मोरङ । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको हो । विशेष गरी छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो । यसका लागि यतिबेला मोरङमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गर्न आम सर्वसाधारणहरु व्यस्त छन् ।
सुनसरी – मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, लोहन्द्रा,किस्ति,मावा,सिँघिया खोला, पोखरियामा रहेको परोपकार घाट, रानीमा रहेको मन्टा पोखरीमा सरसफाई गर्नेहरुको भिड लागेको हो । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जलाशयहरु विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालिसकेका छन् ।
छठ पर्वको लागि बजारमा आवश्यक सामाग्री खरिदहरुको भिड पनि उतिकै बढेको छ । खास गरी तराई मधेशका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल जस्ता फलफुल किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ समापन हुने गर्दछ । पछिल्लो समय मैथिल समुदायले भन्दा पनि सबै क्षेत्र र समुदायले यो पर्व सबै समुदाय विच लोकप्रिय हुँदै गएको छ ।









