सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीका फिदा हुसैनको गोली हानि हत्याको विरोध गर्दै प्रर्दशनरत पक्ष र स्थानीय प्रशासन विच सहमति भएको छ ।
हिजो दिउँसोबाटै सहमतिको प्रयास थालिएपनि दोस्रो दिन आज अपरान्ह मात्रै सहमति जुटेको हो । सहमतिसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी बिराटनगर सडक खण्ड सुचारु भएको छ ।
गृहमंत्रीको राजिनामाको मूख्य मागमा अडान लिएको मृतक परिवार पक्षधर अन्ततः सो मुद्दाबाट पछि हटेपछि शव बुझ्ने सहमति कायम भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीका साथै आन्दोलन परिचालन समितका संयोजक बेद गच्छदार र मृतकका दाजु मेहदी हुसेन सहितका मुस्लिम अगुवा र दलीय प्रतिनीधिबिचको छलफल निष्कर्शमा पुगेपछि दुईदिन देखि सडकमा राखीएको हुसेनको शव पोष्टमाटमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
ठुलो संख्यामा सडकमा उत्रिएको मुस्लिम समुदाय सहितको भिडलाई मृतकका दाजु मेहदी हुसेन र प्रजिअ प्रेमप्रकाश उप्रेतीले सम्बोधन गर्दै सहमतिका बुँदाबारे जानकारी गराउँदै आन्दोलनका कार्यक्रम फिर्ता भएको घोषणा गरेका थिए ।
दुई पक्षबिच भएको सहमतिमा मृतकलाई शहीद घोषणा, सरकारी क्षतिपूर्ति, मृतकको स्थानमा छोरालाई जागिर र हत्यारा छिटोभन्दा छिटो पत्ता लगाउने जस्ता बुँदा समावेश छ । हुसैनको हत्याको विरोधमा विहीवार सुनसरीका दुहवीका अलावा विभिन्न ठाउँमा समेत विरोध प्रर्दशन भएको थियो ।
हत्याको विरोध गर्दै मृतकका आफन्त, स्थानीय लगायतले गरेको प्रर्दशनका कारण कोशी राजमार्गको इटहरी दुहबी खण्डमा दुईदिनदेखि यातयात अवरुद्ध हुन पुगेको थियो भने कलकारखाना, बजार तथा शिक्षण संस्था ठप्प रहन पुगेको थियो ।मृतक हुसैनको पोष्टमाटमपछि भोली मुस्लिय जातिय परम्परा अनुसार दाहसंस्कार गरिने मृतकका दाजु मेहदी हुसेनले बताएका छन् ।












