
राजविराज। २०७४ सालको एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका आधा दर्जन छात्रछात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ । गाउँपालिककाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई जनहि एक एक थान साईकल र ल्यापटप प्रदान गरेको हो ।
यस्तै कार्यक्रममा सेवाबाट निबृत भएका सो गाउँपालिकाका एक दर्जन प्रध्यापकहरुलाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको छ ।
विद्यार्थीको विद्यालयमा पहुच, शिक्षा तर्फ आकर्षित र उनीहरुलाई हौसल्ला प्रदान गर्न पुरस्कार स्वरुप साईकल र ल्यापटप प्रदान गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो । उहाले अगामी शैक्षिक सत्रमा यस गाउँपालिकाबाट एसईई परिक्षामा जिल्ला प्रथम हुनेलाई एक लाख प्रदेश प्रथम हुनेलाई दुई लाख र नेपाल प्रथम हुनेलाई तिन लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिने घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिंर्ण हुने छात्रा तर्फ ईतिसा अधिकारी, रंजन कुमारी यादव र निमा कुमारी झा तथा छात्र तर्फ ओम प्रकाश साह, रविराज सिंह र देवेन्द्र कुमार खंगलाई पुरस्कार स्वरुप एक÷एक थान साईकल र ल्यापटप प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भगवती दलगणका गणपति गुप्त बहादुर कुवर पत्रकार महासंघका सचिव जितेन्द्र झा जितु, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेम बहादुर थापा, डिएसपी भावेश रिमाल, सेवा निबृत प्रधनाध्यापक भोगानन्द मिश्र, मोती नारायण मिश्र, राम नारायण यादवले राम्रो काम गरेको भन्दै कार्यक्रम आयोजकको प्रसंसा गरेका थिए ।
यता एसईई परिक्षामा गरेको मेहनत सफल भई पुरस्कृत भएकोमा छात्राछात्राहरु निकै खुशी भएका छन् । घरबाट शिक्षण संस्था निकै टाढा थियो पैदलै कष्ट गरी आवत जावत गरिन्थ्यो पुरस्कृत छात्रा ईतिसा अधिकारीले भन्नुभयो – अब ल्यापटप सँगै साईकल पाएपछि निकै सहज हुने भो ।








