जनताको भरोषा र आशाको केन्द्रका रुपमा हेरिएको ओली सरकार संक्रमणकालीन अवस्थाबाट गुज्रिदा सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक बिकास मंत्री जिवन घिमिरेले बताएका छन् ।
संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मंत्री घिमिरेले प्रदेश सरकारले जनताको चाहना बमोजिमको आशातित कार्य सम्पादन गर्न नसकेको बताएका हुन् ।
सुनसरीको इनरुवामा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री घिमिरेले अवस्था सदैव एउटै प्रकृतिको नरहने भन्दै ओली सरकारले केही गरेन भनेर अत्तालिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
वहाँले भन्नुभयो “विश्वास गर्नोस – ओली सरकार दौडन्छ” । ५ वर्षमा मुलुकको समृद्धि र बिकासमा कायापलट गर्ने सार्मथ्य बोकेको वर्तमान सरकार जनताको मन जित्न सफल हुने छ ।
इनरुवा – ५ बलाहामा रहेको नवयुग एकेडेमी प्रालिको ११ औं वार्षिक साधारण सभामा सम्बोधनको क्रममा घिमिरेले पुरानो ढाँचा र संरचनालाई परिवर्तन गर्दै नयाँ ऐनमा परिमार्जित गरेर कामकाजलाई तिव्रता दिनेगरी प्रदेश सरकार लागिपरेको समेत जानकारी गराए ।
साधारणमा सभामा मंत्री घिमिरेले एसईई तर्फ एकेडेमीबाट उत्कृष्ठ ठहरिएका नेपाल टपरहरु शंकरबाबु आचार्य र उजज्वलराज घिमिरेलाई सम्मान गरेका थिए । साधारण सभामा प्रालिका अध्यक्ष केदारप्रसाद न्यौपानेले संस्थागत प्रगति तथा आय व्ययको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय अधिकारी गोविन्द पोखरेल, स्थानीय समाजसेवीहरु खेमराज पोखरेल, पोष्टकुमार नेपाल, एकेडेमीका संचालक समिति सदस्य कैलाश पञ्चारिया, दाताराम पोखरेल, प्याब्सन सुनसरीका कोषाध्यक्ष दीपक कार्की लगायतकाले शुभकामना मनतब्य राखेका थिए ।
२०६४ सालमा स्थापना भएयता एकेडेमी जिल्लाकै उत्कृष्ठ संस्थागत विद्यालय रही एसईईमा उत्कृष्ठ विद्यार्थी उत्पादन सफल रहँदै आएको एकेडेमीका प्रवन्धक खगेन्द्र पोखरेलले जानकारी दिए । विद्यालयले गुणस्तरीय र प्रविधीमैत्री शिक्षालाई जोड दिँदै आएको पोखरेलले बताए ।








