
सुनसरी सदरमुकाम इनरुवामा ७ दिने सजिलो सडक नाट्य प्रशिक्षण जारी छ । इनरुवा खेल मैदानमा रहेको कबर्ड हलमा सञ्चालन भैरहेको प्रशिक्षणमा नगरभित्रका ३० जना बालबालिकाको सहभागिता रहेको छ । प्रतिबिम्ब नेपाल इनरुवा सुनसरीले मंसिर २९ गतेबाट संचालनमा ल्याएको नाट्य प्रशिक्षण कार्यक्रम पौष ६ गते सम्म चल्ने छ । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सामाजिक हिंसा, वेतिथि र कुसंस्कार विरुद्ध आवाज उठाउँदै सचेतनामुलक सकारात्मक सन्देश प्रवाहमुखी प्रशिक्षण दिँदै आएको संस्थाका अध्यक्ष सागर आचार्यले जानकारी दिनुभयो । सहभागि विद्यार्थीहरुलाई अनिल पोखरेल, सोनु जयन्ती, गणेश पौडेल, इश्वर बराल र सागर आचार्यले प्रशिक्षण दिँदै आउनुभएको छ । पछिल्लो पुस्तामाझ ओझेल पर्दै गरेको सडक नाटक प्रतिको मोह जगाउनुका साथै रचनात्मक कार्यमा सकृय सहभागिता जनाउन नाट्य प्रशिक्षण महत्वपूर्ण हुने आयोजकको दावी छ । इनरुवा नगरपालिकाको सहयोगमा सञ्चालित नाट्य प्रशिक्षणमा उत्कृष्ठ ठहरिएकाहरुको टिम बनाई जिल्लाका विभिन्न स्थानमा सडक नाटक प्रर्दशन गरिने र प्रतियोगिताहरुमा समेत सहभागिता गराउने संस्थाका अध्यक्ष आचार्यको भनाई छ ।









