
सुनसरीमा विगत केहिवर्षयता लागुऔषध कारोवार नियन्त्रण प्रहरीकालागि टाउको दुखाईको विषय बन्दै आएको छ ।
सिमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीकालागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतिका रुपमा देखिने गरेको छ ।
सदरमुकाम इनरुवा सहितका गाउँवस्तीमा समेत गाँजाका बोट घरआँगनमा लगाइएको भेट्न सकिन्छ । प्रहरीले बेलाबखत ति क्षेत्रमा पुगेर गाँजाका बोट नष्ट गर्ने गरेको छ ।
जिल्लाको दक्षिणी भेगमा केहिदिनयता प्रहरीले गाँजा फँडानीकालागि विशेष अप्रेसननै चलाएको छ ।
पछिल्लो दुईदिनमा मात्रै प्रहरीले हरिनगर र देवानगञ्ज गाउँपालिकाका केही वडाबाट मात्रै १० लाख मूल्य बराबरको तयारी गाँजाका बोट नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय हरिनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घरआगँनमा लुकाएर लगाइएका गाँजाको बोट नष्ट पारेको हो ।


प्रहरी निरिक्षक सुनिल दाहालका अनुसार हरेकजसोका घरआँगनमा व्यवसायिक रुपमा गाँजा खेती गर्ने गरेको पाइएपछि अभियान चलाएर नष्ट गर्न थालिएको हो ।
सिमावर्ती क्षेत्र भएकाले तयारी गाँजा सहजै बिक्री समेत हुने गरेका कारण आर्थिक प्रलोभनमा परी स्थानीयले गाँजाका बोट घरआँगनमा लगाउने गरेका छन् । प्रहरीको तथ्याङकलाई केलाउने हो भने सुनसरीमा गाँजाको सहजै कारोवार हुने गरेको छ । बढीमात्रामा युवाहरु गाँजा कारोवारमा संलग्न रहने गरेको तथ्य पक्राउ परेकाहरुको प्रहरी विवरणका आधारमा अनुमान गर्न सकिन्छ ।
प्रहरीले वर्षेनी गाँजा फँडानी गर्न अभियान चलाउने गरेको भएपनि घरधनी र सम्वन्धित व्यक्तिलाई पक्राउ गरी कार्वाही नगरिँदा सुनसरीका गाउँवस्तीमा लगाइने गाँजा खेती रोकिन सकेको छैन् ।








