- मिकाइल आलम

एसियायी मुलुकमा बिद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी प्रतिवेदन समारोहमा नेपालको तर्फबाट सुनसरी इनरुवा नगरपालिका ९ बबियाकी युवा अभियन्ता अल्बिना प्रविन सहभागी भएकी छन् ।

प्लान इन्टरनेसनल एसिया क्षेत्रीय कार्यालयले थाइल्यान्डको बैंककमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै १७ वर्षीय अल्बिनाले नेपालमा बालविवाहको वर्तमान अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । अल्बिनासंग इनरुवा अनलाईन सम्बाददाता मिकाइल आलमले गरेको कुराकानीको सम्पादित अंश :-

१. एसियाली मुलुकमा विद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी समारोहमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदाको अनुभव कस्तो रह्यो ?

सबैभन्दा पहिले त म आफूलाई भाग्यमानी ठान्छु कि नेपालबाट म प्रतिनिधित्व गर्न पाए । एसियाली मुलुकमा विद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी समारोहमा ५ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त प्रतिवेदन समारोह कार्यक्रममा नेपाल, बाङ्लादेश, कम्बोडिया, भेतनाम, इन्डोनेसियाका सहभागी प्रतिनिधिहरु, केहि नेपाल सहित २० जना युनिभर्सिटीका विद्यार्थीलाई बालविवाह विरुद्ध काम गर्दै आएकी जापानकी महिला अनुसन्धानकर्ताले प्रशिक्षण दिएकी थिइन् । थाइल्यान्डका सांसद सहित अरु देशका प्रतिनिधिहरु माझ आफ्नो देशको बारेमा केहि कुरा राख्न पाउदा एकदमै खुशी छु ।

२. नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदा तपाईंले नेपालमा बालविवाहको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने जानकारी गराउनु भयो ?

प्लान इन्टरनेशनलले नेपालमा रिसर्च गर्दा ३७ प्रतिशत बालविवाह भैरहेको पाइएको छ । प्लान इन्टरनेशनल नेपालमा अनुसन्धान गर्दा निकै कलिलो उमेरमा विवाह भैरहेको छ । नेपालमा अहिले पनि १० प्रतिशत १५ वर्षमुनीको बालबालिकाको बालविवाह भैरहेको छ । एसियाली मुलुकमा प्रत्येक २ जनामा १ जनाको बालविवाह भैरहेको डर लाग्दो तथ्यांक रहेको छ । खासगरी नेपालको सन्दर्भमा गरिबी, अशिक्षा, असमानता, चेतनाको कमि,स्वास्थ्यको बारेमा जानकारी नहुनु, दाईजो लगायतको कारणले बालविवाह भैरहेको जानकारी गराए ।

३. यति कम उमेरमा बालविवाह र महिला अधिकारको बारेमा आवाज उठाउने प्रेरणा कहाँबाट मिल्यो ?

आमा सहजादी प्रविन मानवाधिकारको पक्षमा वकालत गर्दै आउनुभएको छ । खासमा भन्ने हो भने म आज जहाँ छु जे छु वहाँकै देन हो यहाँसम्म पुग्नुमा । हामी सानो हुँदादेखिनै आमा महिला अधिकारका साथै अरु समाजिक काममा सकृय रहदै आउनुभएको छ । आमासंगै बुबाले पनि धेरै सहयोग गरिरहनु भएको छ । आजसम्म मैले गरेको कुनै काम नगर भनेर भन्नुभएको छैन । मैले केहि गर्दा वहाँहरुसंग सल्लाह, सुझाव लिएर गर्छु । उहाँहरु मेरो सबथोक हुनुहुन्छ । आशा छ वहाँहरुको साथ, सहयोग र समर्थन रहिरहनेछ ।

४. तपाईं मुस्लिम समुदायबाट हुनुहुन्छ सुनसरी सहित नेपालमा मुस्लिम समुदायमा बालविवाहको अवस्था कस्तो रहेको पाउनु भएको छ ?

सुनसरीमा मात्रै नभई हाम्रो देशभरनै बालविवाह भैरहेको छ । हामीले अनुसन्धान गर्दा खासगरी पिछडिएका समुदायमा बालविवाह बढी भैरहेको अवस्था यथावत छ । केहि अघिसम्म मुस्लिम समुदायमा बालविवाह हुने क्रममा वृद्धि भएपनि पछिल्लो समययता चेतनाको स्तरमा वृद्धिसंगै कमि आएको जस्तो लाग्छ । नेपालमा मुस्लिम समुदाय मात्रै नभइ अरु अरुमा समुदायमा अहिले पनि बालविवाह भैरहेको यथार्थ कुरा हो ।

५. खासगरी ग्रामीण भेगमा सहरी क्षेत्र भन्दा बढी बालविवाह र महिला माथि हिंसाका घटना बढेको उदाहरणहरु छन् यसबारे के भन्नु हुन्छ ?

तपाईंले सहि भन्नुभयो । सहरी क्षेत्रका मानिस शिक्षित छन्, चेतनाको स्तर बढेको छ जहाँ बालविवाह सहित अरु महिला माथिको हिंसा कम भैरहेको छ । तर ग्रामीण क्षेत्रमा न त शिक्षा स्तर बढेको छ न त चेतनाको स्तर बढाउने काम भएको छ । विभिन्न संघसंस्थाहरु ग्रामीण क्षेत्रमा शिक्षा,स्वास्थ्य,चेतनाको स्तरमा वृद्धि गर्ने काम गर्दै आएपनि त्यो प्रभावकारी भएको अवस्था छैन त्यसैले ग्रामीण क्षेत्रमा सहरी क्षेत्रको तुलनामा बालविवाह र महिला माथि हुने विभिन्न प्रकारका हिंसा बढेका छन् ।

६. तपाईंको बुझाईमा नेपालमा बालविवाह गरिनुको कारणहरु के के हुन ? र न्यूनीकरण गर्नका लागि के के गर्नुपर्ने आवश्यकता छ ?

बालविवाह हुनुको विभिन्न कारणहरु छन् । जस्तै शिक्षाको कमी, गरिबी, दाइजो प्रथा, अवसरको कमी, असमानता, चेतना अभाव, बेरोजगारी, पढ्ने उमेरमा गरिने प्रेम, देखासिकी इत्यादि कारण बालविवाह भैरहेको छ । जहाँ सम्म मलाई लाग्छ बालविवाह न्यूनीकरण गर्नका लागि समाजमा जनचेतनामूलक कार्यक्रम प्रभावकारी तरिकाले गर्नुपर्छ, सरकारले कानुन कार्यान्वयनमा कडाई गर्नुपर्छ । मेरो बुझाइमा सरकारले विवाह पछि भन्दा पनि विवाह अगाडि नै पहिले विवाह दर्ता गराउनु पर्छ । जसले गर्दा विवाह गर्ने जोडीको वास्तविक उमेर पत्ता लाग्छ । स्कुल तहबाट बालबालिकाहरुलाई स्वास्थ्य र प्रजनन स्वास्थ्य बारेमा शिक्षा दिनुपर्छ, पढाईमा सहयोग छात्रवृत्ति उपलब्ध गराउनुपर्छ, क्षमता विकासको लागि तालिम दिनुपर्छ, बालबालिकालाई समय समयमा उत्प्रेरित गराउने तालिम दि राख्नुपर्छ, अभिभावक,विद्यार्थी र परिवारका अन्य सदस्यसंगै अन्तरक्रिया कार्यक्रम गराउनु पर्छ जसले समस्याको पहिचान गरी समाधान गर्न सकिन्छ । बालिकालाई खेलकुदमा अगाडि बढाई उत्कृष्टहरु लाई रोजगारको व्यवस्था गर्नुपर्छ ।

७. बालविवाह र महिला अधिकारको बारेमा आवाज उठाईरहदा कतिको चुनौती सामना गर्नुपरेको छ ?

खासै त्यस्तो चुनौतीको सामना गरेको अनुभव छैन । जहिले पनि सकारात्मक सोच्ने गर्छु र पढाईका साथै काममा ध्यान दिन्छु ।

८. नेपालको प्रतिनिधित्व गर्दै बालविवाह न्यूनीकरण सम्बन्धि समारोहमा सहभागी हुँदा के के नयाँ कुरा सिक्न पाउनुभयो ?

सर्वप्रथम त म माथि विश्वास गरेर मलाई उक्त समारोहमा नेपालको प्रतिनिधित्व गराउन सहयोग गर्ने प्लान इन्टरनेसनल नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु । १७ वर्षको उमेरमा बिदेश यात्रामा जानुअघि केहि नर्भस थिए । तर जादा मैले अपेक्षा गरेभन्दा धेरै राम्रो भयो । अरु देशका प्रतिनिधिहरुसंग बालविवाह सम्बन्धि आ आफ्नो कुराहरु साटासाट गर्ने अवस्था मिल्यो । उनीहरूको देशमा बालविवाहको अवस्था र न्यूनीकरणका उपायहरुका बारेमा जानकारी पाए ।

९. अबको योजना के छ तपाईंको ?

अहिले म बिबिएस पहिलो वर्षमा अध्ययनरत छु । आगामी दिनमा पढाईका साथै बालविवाह र महिला माथि हुने हिंसाको बारेमा काम गर्छु । आशा छ आगामी दिनमा जनप्रतिनिधि, राजनितिकर्मी,संचारकर्मी,लगायत सबैको साथ,सहयोग,सल्लाह, सुझाव रहिरहन्छ । सबैसंग सहकार्य गरेर काम गर्न चाहन्छु ।

१०. अन्त्यमा तपाईंजस्तै केहि गर्न चाहने विद्यार्थी भाईबहिनीलाई के भन्न चाहनुहुन्छ ?

हिंसा सहनु पनि अपराध हो । यदि कोहि कसैले तपाईंको अधिकारको हनन गरेको छ भने प्रतिकार गर्नुस् । पढाईका साथै आफूलाई रुचि लागेको काम गर्नुस् । आफू भन्दा ठुलोको सम्मान र सानोलाई माया गर्ने बानीको विकास गर्नोस् । कोही कसैले हिंसा गरेको छ वा पाउनु भएको छ भने नजिकैको प्रहरीलाई जानकारी गर्नोस् । हामी तपाईंको साथ दिन्छौं !

तपाईको प्रतिक्रिया

trusted online casino malaysia