- मिकाइल आलम

इनरुवा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको सोच देशको लागि घातक भएको बताएका छन् । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली काङ्ग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले दुई तिहाइको नाममा ओली आफू बलियो बनेको दाबी गरेका हुन ।

देश संकटमा पर्दै गएको दाबी गर्दै नेता आचार्यले भने देशमा पहाडी र मधेसीको बीच विभेद हुदैछ,ओली सरकारले एक पक्षलाई काखा र अर्को पक्षलाई पाखा गर्ने काम गरेको छ यो देशको लागि घातक हो । नेपाल विविधतायुक्त देश भएको बताउदै नेता आचार्यले सबैलाई समान नजरले हेर्न सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्री जस्तो पदको ख्याल नै नगरी ओलीले नेपाललाई विश्व सामु बदनाम गराउने काम गरेको नेता आचार्यको आरोप थियो ।

दुई तिहाइले स्थिरता नआउने भन्दै आचार्यले एकलौटी नगर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिए । देशमा शान्तिसुरक्षा नभएको बताउदै नेता आचार्यले निर्मला पन्तका हत्यारालाई यथाशीघ्र कार्वाही गर्न माग गरे । फरक प्रसङ्गमा बोल्दै केन्द्रिय सदस्य नेता आचार्यले भाषण दिनुभन्दा पनि मधेसी,थारु सहित पिछडिएको वर्गको माग सम्बोधन गर्न सुझाव दिए । मधेसी जनताको कतिपय माग जायज भएपनि मधेसी नेताको सत्ता मोहका कारण पुरा हुन नसकेको आचार्यको भनाइ थियो । नेपाली काङ्ग्रेसको मेलमिलापको निति देशलाई जोड्ने शक्ति भएको आचार्यले बताए ।

पन्चायत कालदेखि नै काङ्ग्रेस माथि आक्रमण हुँदै आएको जिकिर गर्दै नेता आचार्यले तर काङ्ग्रेस बिपक्षीले भन्दा पनि आफ्नै कारणले चुनावमा अपेक्षा अनुसार बहुमत प्राप्त गर्न नसकेको बताए । काङ्ग्रेसमा हुदै आएको गुटबन्दी अब अन्त्य हुने र आगामी निर्वाचनमा काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्याउने नेता आचार्यले दाबी गरेका थिए । ग्रामीण र सहरी क्षेत्रबाट आएका सयौं नेताकार्यकर्ता उपस्थित भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा १ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia