इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले नितान्त आफ्नै पहलमा अपाङ्गता भएकाहबाट सुझाव संकलन थालेकी छिन् । बजेट अभावमा लक्षित कार्यक्रम संचालन गर्न नसकेपनि उमप्रमुख पोखरेलले नगरभरका अगुवाहरुलाई डाकी अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सुझाव संकलन थालेकी हुन् ।
पहिलो चरणमा भेला डाकेकी उपप्रमुखले नगरका १० वटै वडाका अपाङ्गता भएका व्यक्तिका अगुवाहरुलाई भेला गरी झेल्दै आउनुपरेका समस्याका बारेमा जानकारी बटुलेकिछिन् । समाजमा अपाङ्गता भएका व्यक्तिहरुको स्थान र सेवासुविधा लगायतको अवस्था बारेमा बुझेर थप रणनीति तय गर्न सुझाव संकलन कार्यक्रम गरिएको पोखरेलले बताइन् । भेलामा उठेका सवालका विषयमा कार्यपालिकामा प्रस्ताव लगेर गहन छलफल गरी निचोड निकालिने पोखरेलले बताइन् ।
अपाङ्गता नगर कार्य समिति इनरुवाले आयोजना गरेको भेलामा सहभागिहरुले अपाङ्गता भएकै कारण झैल्दै आउनु परेको समस्याका बारेमा अवगत गराएका थिए । अपाङ्गमैत्री भवन पूर्णतया कार्यान्वयनमा नआउनु, सेवासुविधा सवालमा प्राथमिकतामा नपारिनु र अपेहेलित भैरहनु परेको जस्ता गुनासो कार्यक्रमका सहभागि अपाङ्गता भएका व्यक्तिहरुले राखेका थिए । नगर कार्य समितिका अध्यक्ष शम्भु भट्राईले आफुहरुलाई विभेदमा पारिएको भन्दै आवश्यकता परे अपाङ्गता भएका व्यक्तिहरु सबै भेला गरी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
सहभागिहरुको गुनासो संकलन तथा सुझाव बुझेपछि अपाङ्गता भएकाहरुको हकअधिकारका सवालमा आफु कटिवद्ध भई लागिपर्ने उपप्रमुख पोखरेलले विश्वस्त पारिन । पोखरेलले आफ्नो कार्यक्षेत्र र अधिकारमा पर्ने विषयमा आफ्नै पहलमा भएपनि सुझाव संकलन सहितको काम थालि कार्यान्वयनमा ल्याउने बताएकी छिन् ।कार्यक्रमकालागि कुनै बजेट उपलब्ध नहँदा भेलामा उपस्थित अपाङ्गता भएका व्यक्ति लगायत सरोकारवालाहरुलाई उपमेयर पोखरेलले व्यक्तिगत खर्चबाट चियानास्ता सहितको प्रवन्ध मिलाएकी थिइन् ।











