
राजविराज । जयपुरको नक्सामा आधारित सगरमाथा अञ्चलको सदरमुकाम राजविराज घ वर्गमा वर्गीकृत गरेको छ । सरकारले गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा यस जिल्लाका ख वर्ग दुर्गममा छ वटा गाउँपालिका र ग वर्ग मध्यममा आठ नगरपालिका र तीन गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ । जिल्लामा नौं नगरपालिका र नौं गाउँपालिका रहेका छन ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिक र राजगढ गाउँपालिका ख वर्ग दुर्गममा परेका छन् । त्यस्तै कंचनरुप नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका ग वर्ग मध्यममा परेका छन् ।
यातायातको सुविधा सडक, हवाई यातायातको गुणस्तर र नियमितता, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी मन्त्रालयले वर्गीकरण गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७५३ वटा स्थानीय तहलाई पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा वर्गीकरण गरेको छ । जसअनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन । यसै वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुनेछ । यसरी गरेको वर्गीकरणमा चित्तनबुझे सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।








