इनरुवा। सुनसरीको बराहक्षेत्र नरगपालिका सहित सात स्थानीय तहमा दमकन विहिनको अवस्था रहेको छ । जिल्लामा आगलागीको घटना उच्च हुने क्षेत्रमा पर्ने कोशी गाउँपालिका, भोक्राहा नरसिंह, गढी, बर्जु, देवानगञ्ज, हरिनगर सहितका गाउँपालिकामा आफनो दमकल नरहेको स्थानीयहरुले बताएका छन । यहाँ सबै महिना र विषेश गरेर गर्मी मौसममा हावाहुरी, आगलागीका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको लौकहीका पवन रौनियारले गुनासो गर्नुभएको छ ।
जिल्लाका १२ स्थानीय तह मध्ये ७ स्थानीय तह दमकलविहीन रहेका छन् । यहाँको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा र दुहवी नगरपालिका बाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समितिका सदस्य नुनु मियाँले जानकारी दिनुभयो । जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे उहाँको भनाइ छ ।
अन्य स्थानीय तहमा आगलागी हुँदा धरान, इटहरी, इनरुवाको दमकल गुहार्नुपर्ने अवस्था रहेको मियाँको भनाई छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको इनरुवा नगर परमुख राजन मेहताले बताउनुभयो । सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने इनरुवा प्रमुख मेहताले बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको आठ वटा दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने गरेको छ ।









