- अमर काफ्ले

शनिबार बन्द रहने गरेको इनरुवा बजारको समय तालिका परिवर्तन हुने भएको छ । स्थानीय सरकारका रुपमा रहेको इनरुवा नगरपालिकाले बजार बन्दको तालिका परिवर्तन गर्न लागेको हो । इनरुवा नगरपालिकाको कार्यालयले शनिबारको साटो बजार तथा पसलहरु मंगलबार बन्द गर्ने गरी आवश्यक पहलको प्रकृया अघि बढाएको छ । शनिबार बन्द हुँदै आएको इनरुवा बजारलाई मंगलवार वा अन्य बार सार्ने भन्ने विषय छलफलको चरणमा रहेको इनरुवा नगरपालिकाले जनाएको छ । यद्यपी सो विषयमा निर्णय भने भैसकेको छैन् ।

स्थानीय तहमा निर्धारण गरिने नीति नियमदेखि कार्यसम्पादन र व्यवस्थापनका सवालमा नगर कार्यपालिकाले निर्णय लिन सक्ने भएकाले आवश्यक परेको खण्डमा सोही अनुरुपको प्रकृया अघि बढाइने गरी तयारी समेत थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । स्वयं इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता समेत आमनगरवासीबाट प्रशंग उठ्न थालेकाले शनिबार हुँदै आएको बजार बन्दलाई अन्य दिन सार्ने बारेको बहस थालिएको बताउँछन् ।

शनिबार त्यसैपनि बिदाको दिन । कार्यालय, शिक्षण संस्था स्वतः बन्द रहन्छ । साताको एक दिन सबैलाई मिल्ने छुट्टी र फुर्सदको दिनको रुपमा लिइने शनिबार नगरको प्रमुख बजार भने बन्द रहन्छ । किनमेलका साथै बजारसँग जोडिएको दैनिकी र पारिवारीक घुमफिर जस्ता कार्यकालागि समेत छिमेकी बजार धाउनु पर्ने हुनाले मोटो रकम समेत बाहिरि रहेको मेहताको बुझाई छ । स्थानीय बजार प्रर्वद्धनकालागि समेत शनिबार बन्द हुने इनरुवा बजारको विकल्प आवश्यक रहेको नगर प्रमुख मेहताको भनाई छ । नगरपालिकाको प्रस्ताव प्रति आमनगरवासी र स्वयं स्थानीय व्यापारी समेत सकारात्मक देखिएकाले सोही अनुरुप उवासंघ इनरुवाले समेत निर्णय कार्यान्वयनमा ल्याउनेमा आफु विश्वस्त रहेको मेहताले बताए । सो विषयमा स्थानीय स्तरमा हुने बहसबाट प्राप्त निचोडलाई प्राथमिकतामा राखेर निर्णायक प्रकृया अघि बढाइने मेहताले जानकारी दिए ।

इनरुवा नगरपालिकाका अनुसार उद्योग वाणिज्य संघ इनरुवासँग सो विषयमा छलफल अघि बढाइएको छ । स्थानीय सरोकारवालाकासाथै स्थानीय व्यापारीहरु शनिबारको बन्दीलाई अन्य दिन सार्न सहमत देखिएपनि उद्योग वाणिज्य संघ इनरुवाका पदाधिकारीहरुले भने खासै चासो दिएको पाइएको छैन् । बिराटनगर र जोगवनीको बजारलाई हेरेर नगरपालिकाको प्रस्तावलाई उवासंघ इनरुवाले आलटाल गर्न खोजिरहेको बताउने स्थानीय जानकारहरु आफ्नो क्षेत्रको बजारीकरणसँगै व्यापार व्यवसायमा टेवा पुग्ने खाल्को निर्णय कार्यान्वयनमा ल्याउनु उचित हुने बताउँछन् । उता उवासंघ इनरुवाका पदाधिकारीहरुले उक्त विषयमा आवश्यक छलफल पश्चात मात्र आधिकारिक धारणा सार्वजनिक गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia