एलेन कलेज अफ ईन्जिनियरिङ प्रालि इनरुवाका अध्यक्ष मनोज मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्वस्थताका कारण लामो समय अस्पतालमा उपचाररत रहँदा पक्राउ पुर्जिका बाबजुत सुनसरी प्रहरीले मेहतालाई नियन्त्रणमा लिएको थिएन् । बिरामीको कारण देखाउँदै दुईसाता बढी मेहता अस्पतालमा रहँदा स्थानीय स्तरमा उनिमाथि पक्राउ छल्न बिरामीको नाटक गरेको जस्ता आरोप लागेको थियो ।
अध्यक्ष मेहता र संचालक बिनोद शर्माका नाममा इजाजत बेगर आफुखुशी तवरले गैरकानुनी रुपमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरको आरोपमा क्षतिपूर्तिको माग सहित विद्यार्थी र अभिभावकहरुले ठगी मुद्दा दर्ता गराएका थिए । प्रहरीले तत्कालिन समयमै संचालक शर्मालाई पक्राउ गरेको थियो । शर्मा उपर म्याद थप गरी नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको भएपनि अस्वस्थ रहेका मेहतालाई भने आवश्यक उपचारकालागि परिवारको जिम्मा लगाइएको थियो ।

उच्च रक्तचापका बिरामी भएको बताइएका मेहताले प्रहरी नियन्त्रणकै क्रममा आफ्नो स्वास्थ्यमा खराबी देखिएको बताएपछी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि पुर¥याइएको थियो । धरानबाट जिल्ला प्रहरी कार्यालय ल्याइएका मेहताले स्वास्थ्यमा पूनः समस्या देखिएको बताएपछि प्रहरीको निगरानीमा रहनेगरी परिवारको जिम्मा लगाइयो । बिराटनगर नोबेल अस्पतालमा भर्ना भएका मेहताको निगरानीकालागि जिप्रका सुनसरीले प्रहरी समेत खटाएको थियो । आवश्यक्ता भन्दा बढी समय उपचारका क्रममा रहेपछि बिरामीको नाटक गरेको आशंका गरिंदा प्रहरीले समेत डाक्टरसँग परामर्श लिएको थियो ।
स्वास्थ्यमा सुधार भएपछि मेहताको उपचारमा संलग्न डाक्टरकै सल्लाह र इजाजत पश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शर्माको म्याद थप भई आवश्यक प्रकृया अघि बढिरहँदा अस्वस्थताका कारण नियन्त्रमा लिन नसिकएका मेहता उपरको मुद्दामा प्रहरीले कानुनी कार्वाहीको प्रकृया अघि बढाउन सकेको थिएन् । मेहतालाई नियन्त्रणमा लिएसँगै बयान गराएर आवश्यक कागजात सहित अदालतमा बुझाउन सुनसरी प्रहरीले तयारी थालेको छ । ठगी मुद्धासँग सम्वन्धित अन्य आवश्यक अनुसन्धान पुरा भैसकेको जनाएको प्रहरीले पक्राउ परेका मेहता र शर्मा उपर ठगी मुद्दा पुष्टि भईसकेकाले सोही अनुरुपको कागजात सहित अदालत बुझाइने जनाएको छ । अध्यक्ष र संचालक उपर हुने कार्वाहीको विषय भने अदालतले टुङगो लगाउने प्रहरीले जनाएको छ ।यसैबीच कलेजका नाममा हाल संचालन भैरहको कम्प्युटर कक्षाको सम्वन्धमा समेत प्रहरीले सीटीईभिटीसँग राय माग गरेको छ ।
कलेजले सीटीईभिटीबाट सम्वन्धन नलिई विद्यार्थी भर्ना गरी मनोमानी शुल्क लिएर चलाइएको कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम गैर कानुनी ठहरिएपछि तिनै विद्यार्थीलाई अर्को कोर्षमा सहभागि गराउन पाउने वा नपाउने भन्ने विषय यकिन गर्न तर्फ प्रहरी लागिपरेको छ । सीटीईभिटीको राय र लिखित व्यहोराका आधारमा आवश्यक अन्य कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख राजन अधिकारीले जनाएका छन् ।









