एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका नाममा दर्ता भएको ठगी मुद्दा थप पेचिलो बनेको छ ।प्राविधिक शिक्षाका नाममा अनुमति बेगर सञ्चालित कलेजले चर्को शुल्क लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।सीटीईभीटीले एलेन कलेजले संचालन गरेको कोर्षलाई पूर्णरुपमा गैरकानुनी ठहर गरेसँगै ठगी सम्वन्धि परेको उजुरी उपर प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । प्रहरीले मण्डललाई अनुसन्धानकालागि नियन्त्रणमा लिएसँगै ठगी मुद्दामा तीनजना अनुसन्धान र कार्वाहीको प्रकृयामा तानिन पुगेका छन् ।

कलेजका संचालक बिनोद शर्मा करिव तीनसाता यता प्रहरी हिरासतमा छन् । ठगीको प्रशंग बाहिरिएसँगै अस्वस्थ देखिएका कलेजका अध्यक्ष मनोजकुमार मेहतालाई प्रहरीले केहिदिन अघि नियन्त्रणमा लिई म्याद थप गरेको छ । अनुसन्धानको क्रममा एलेन कलेज प्रकरणका माष्टर माइन्ड भनिएका बिनोद मण्डललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।कलेज स्थापनाताका एउटै समूहमा रहेर काम गरेका मण्डललाई त्यस ताका कलेजका सहकर्मीका रुपमा रहेका मेहता पक्राउ परेको केहिदिनमै प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार ठगी मुद्दामा पक्राउ परेकाहरुको बयानमा मण्डलको समेत संलग्नता खुलेको छ । विद्यार्थी भर्ना गराउने सवालमा मण्डल सहितको टिमवर्कमा काम गरिएको पाइयो । कमिसनको आधारमा विद्यार्थी जुटाउने कार्यमा खटिएका मण्डल कलेज संचालक र अध्यक्षसँगको मनमुटावले बाहिरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।सोही विषयमा बढ्दो असन्तुष्टिलाई सार्वजनिक गराउने भूमिका खेलेको आरोप झेल्दै आएका मण्डलसमेत पक्राउ पर्नुलाई कलेज विरुद्ध लागेको ठगी मुद्दाको भागिदार मानेर अनुसन्धानमा तानिएको हुन सक्ने अडकलबाजी गरिएको छ ।
सुनसरी प्रहरीले समेत मण्डललाई नियन्त्रणमा लिइएको स्विकारेको छ । कलेजबाट बरामद गरिएका कागजपत्र र ठगी मुद्दामा संलग्नताको आधारमा पक्राउ परेकाहरुको बयान पश्चात अनुसन्धानकालागि मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बिनोद भनिने बिन्देश्वर मण्डललाई जिल्ला अदालत सुनसरीबाट दुई दिन म्याद थप गरेको जनाएको छ ।पक्राउ पर्नु पूर्व मण्डलले आफुलाई समेत प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिन सक्ने बताउँदै कलेज ठगी प्रकरणमा आफ्नो कुनैपनि संलग्नता भने नरहेको दावी गरेका थिए । कलेजको मनोमानी र आफुखुशी विरुद्ध केवल आफुले असन्तुटि जनाउँदै आवाज उठाएको उनको भनाई थियो ।
कलेजका संचालक र अध्यक्ष पक्राउ पर्नुको मूख्य कारण मानिएका मण्डललाई उनका विपक्षीहरुले एलेन प्रकरणको माष्टर माइन्डका रुपमा ब्याख्या गर्ने गरेका छन् । एलेन प्रकरणसँग जोडिएर बाहिरिएको रकम बार्गेनिङमा स्थानीय केही संचारकर्मीहरुको समेत संलग्नताको विषय उपर समेत अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।कलेजका अध्यक्ष मेहता निकट रहेको र उनको परामर्शदाता र सहयोगीको भूमिका निर्वाहमा रहेको भनिएका केहि स्थानीय संचारकर्मी उपर समेत आवश्यकता परेको खण्डमा सोधपुछ गर्ने गरी तयारी अघि बढाइएको प्रहरी स्रोतको भनाई छ ।एलेन कलेज अफ ईन्जिनियरिङ प्रालि इनरुवाले सीटीईभीटीसँग इजाजत नलिइकन विद्यार्थीबाट आफुखुशी रकम असुलेर कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम संचालन गरेको पाइएको थियो ।विद्यार्थी सहित अभिभावकले कलेज विरुद्ध ठगी मुद्दामा उजुरी गरेपश्चात सम्वन्धित निकायको अनुसन्धानको क्रममा कलेजले संचालन गरेको कोर्ष गैरकानुनी ठहरिएको थियो ।









