इनरुवा । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राईको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेज बाट फेला परेको हो।

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदि बाट फेला पारिएको हो ।

नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले उक्त महिलाको शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदि बाट बाहिर निकालेका थिए ।

हत्या आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङको बयान अनुसार शव राईको जस्तै देखिएपनि मोरङ प्रहरीले आधिकारिक रूपमा शव पहिचान गरिसकेको छैन । महिलाको शव फेला परेको बारे मोरङ प्रहरीलाई खबर गरिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी र राईका आफन्तले शव देखेपछि बेलबारीका रमिला राईकै शव हो/होइन भन्ने यकिन हुने बुझिएको छ ।









