- अमर काफ्ले

इनरुवा। बालबालिका बेचबिखन विरुद्ध सुनसरीमा संचालित परियोजनाको अवधी सकिएको छ । सुनसरीको कोशी गाउँपालिका, बर्जु गाउँपालिका, बराहक्षेत्र र इनरुवा नगरपालिकामा संचालित परियोजना इनरुवामा आयोजित उपलब्धी र सिकाई सहितको समिक्षात्मक कार्यक्रमकाबीच समापन भएको घोषणा गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा साझा सवालकालागि साझा मंच (कोकन)ले सुनसरीमा २० महिना उक्त परियोजना संचालनमा ल्याएको थियो ।
कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलका अनुसार परियोजना अवधीभर मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतना मूलक कार्यक्रमसँगै स्थानीय तहमा सूचना प्रवाह, क्षमता अभिवृद्धिका साथै जोखिममा रहेका बालबालिकाहरुको पहिचान गरी आर्थिक सहयोग, सशक्तिकरण र सहजिकरण जस्ता गतिविधी संचालन गरिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती सहित स्थानीय पालिकाहरु कोशी, बर्जु, बराहक्षेत्रका प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष लगायत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रमको सान्र्दभिकता र औचित्यका बारेमा चर्चा गरिएको थियो । परियोजना अवधीभर ६ जना अभियन्ताहरुले आयोजक संस्थासंगको समन्वयमा कार्यक्रम लागु भएको क्षेत्रमा सूचना प्रवाह सहित मानव बेचविखन तथा ओसारपसार विरुद्धका सचेतनामूलक कार्यक्रम चलाएका थिए ।
हेल्प डेस्क स्थापनादेखि उद्दार, पूर्नस्थापनासँगै आत्मनिर्भरमूखी दीगो बिकास लक्षित सहयोगी मूलक कार्यक्रमहरु परियोजना अवधीभर संचालन गरिएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । कोकनले नेपाल भारत सीमा क्षेत्र सुनसरीको भाण्टाबारी नाकामा सूचना केन्द्र स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ ।

योसँगै कार्यक्रम लागु रहेका पालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको ऐनको मस्यौदा तयार गरी कार्यान्वयनकालागि स्थानीय सरकारका हकमा प्रतिवद्धता जनाउन लगाइएको छ । सोही अनुरुप स्थानीय तहले कार्यक्रमलाई समेत अघि बढाइरहेका छन् । जसमा संस्थाले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।

समवन्धित क्षेत्रमा स्थानीय तहको नेतृत्व र जिम्मेबारीमा रहनेगरी परियोजनाको मर्म अनुरुपका कार्य अघि बढाउन संस्थागत सहयोग भने जारी रहने बताइएको छ । कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियानलाई स्थानीय तहको पहलकदमीमा निरन्तरा दिइने प्रतिवद्धता जनाएका छन् । परियोजना समापन भएपनि आवश्यक परामर्श लगायतका सहयोग भने जारी रहने कोकनले जनाएको छ । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचविखन विरुद्धको अभियानले पूर्ण रुपमा सार्थकता पाएको हो । बढी मात्रामा बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखनलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाले न्यूनिकरणको प्रयास स्वरुप परियोजना लक्षित कार्यक्रमहरु गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia