इनरुवा नगरपालिका वडा नम्वर ७ चाँदबेलामा पत्नीको धारिलो हतियार प्रहारबाट पतिको ज्यान गएको छ। इनरुवा नगरपालिका वडा नम्वर ७ चाँदबेलाको बरछवामा पत्नीको हतियार प्रहारबाट २८ वर्षिय मुकेश ऋषिदेवको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उक्त परिवारमा दिनहुँजसो झैझगडा हुने गर्थ्यो । हरेकदिनजसो मादक पदार्थ सेवन गर्ने दुवै आपसमा झगडा गर्ने गर्थे । बेलुकी पख घरमै देखिएकी श्रीमती घटना पश्चात नदेखिनुले पतिको हत्यामा उनकै संलग्नता रहेको आशंका गरिएको छ । घटना प्रकृति र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खाना खाँदै गरेको अवस्थामा झगडा भएको र आवेशमा धारिलो हतियारले हिर्काए पश्चात मुकेशको मृत्यु भएको हुन सक्ने देखिएको छ ।
घटना सम्वन्धमा स्थानीयले जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । सुनसरी प्रहरीका अनुसार मुकेशका टाउको र ढाँडमा चोट लागेको छ । धारिलो हतियार दाउ प्रहार गरी मुकेशको घरभित्रै हत्या भएको अवस्थामा शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ । मुकेशको दुई छोराछोरी र पत्नी सहित बरछवा स्थित घरमा बस्दै आएका थिए । हत्या पश्चात श्रीमती बिमला ऋषिदेव फरार छिन् भने नाबालाक छोराछोरीको समेत अत्तोपत्तो छैन् । पतिको हत्या पश्चात छोराछोरी लिएर आमा फरार भएको हुन सक्ने अनुमान गरिएको छ । बेलुकी पखनै हत्या भएको अनुमान गरेको प्रहरीले हत्याको कारण यकिन गरिनसकेको भएपनि घटनास्थलमा कानको टप र घडीको टुक्रा फेला परेको जनाएको छ । हत्यामा परिवारकै सदस्यको संलग्नताको अनुमान गरेको प्रहरीले घटनास्थलमा फेला परेका प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको र बिमलाको खोजी गरिरहेको जनाएको छ ।









