इनरुवा। अवरुद्ध नगरसभाको मुद्दामा सहमति जुट्दै गर्दा इनरुवा नगरपालिकामा प्रतिशोधको राजनिति सुरु भएको छ। लामो समयको गतिरोध पछी नगरमा बनेको सहमति पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै नगरपालिकामा प्रतिसोधपूर्ण राजनैतिक खेल सुरु हुन पुगेको देखिएको छ । नेकपा तर्फका निर्वाचित जनप्रतिनिधिले यसअघिनै नगरमा ब्यापक अनियमितता भएको ठहर गरिसकेका छन् ।
कार्यपालिकाको निर्णय बेगर नगर प्रमुखको तोक आदेशमा बजेट सक्ने काम भएको जस्ता आरोप नेकपाले लगाई रहँदा स्वयं नगर प्रमुख राजन मेहता सभापति रहेको नेपाली काँग्रेस नगर कार्य समिति इनरुवाले नेकपा तर्फबाट निर्वाचित वडा कार्यालयको हरहिसाब सार्वजनिक गर्न समिति गठन गरेको छ । नेपाली काँग्रेस नगर कार्य समिति इनरुवाले विज्ञप्ती जारी गर्दै नेकपाका वडाहरुको हरहिसाब र अनियमितता छानविन गरी सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ ।
सचिवद्धय रोशन खड्का र धिरज भट्टराईद्धारा जारी विज्ञप्तीमा नेकपाद्वारा छानविन समितिले नगरपालिका भित्र भएको भनिएको कुनैपनि अनियमितता ठहर गर्न नसकेको हुँदा अनावश्यक वितृष्णा फैलाएको निष्कर्श निकालेको छ । विज्ञप्तीमा उक्त कार्यप्रति भत्सर्ना गर्दै नेकपाका वडामा भएको ब्यापक अनियमितता सार्वजनिक गर्न गठित समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । प्राप्त प्रतिवेदन नगरसभामा पेश गरिने व्यहोरा समेत विज्ञप्तीमा खुलाइएको छ ।
नेका नगर कार्य समितिद्धारा गठित समितिको संयोजकमा इनरुवा वडा नम्वर ७ का वडाध्यक्ष किशोर कुमार सिंह संयोजक रहेका छन् भने सदस्यहरुमा रविन्द्र मण्डल, श्रवण यादव र रञ्जेश भट्टराईलाई जिम्मेबारी तोकिएका छन् । विज्ञप्तीमा बैठकले सबै वडाको कार्यक्रम तथा खर्च विवरण समेत छानविन गरिने जनाइएको छ । नगर कार्य समितिको बैठकले नगर प्रमुखलाई संसदीय दलका नेता र किशोर कुमार सिंहलाई उपनेता चयन गरिएको समेत विज्ञप्तीमा जनाइएको छ ।
अर्पादर्शिता र अनियमितताको आरोप लगाउँदै नेकपाका जनप्रतिनिधिको बहिस्कारमा परेको नगरसभा सञ्चालनमा ल्याउने विषयमा दुई दिन अघि मात्र सहमति जुटेको थियो । बजेट सिलिङ, खर्च विवरण सार्वजनिक, अनियमित खर्च अनुमोदन नहुने र मेयरलाई दायरमा बाध्ने जस्ता मुद्दामा मेयरसँग बनेको सहमति पश्चात आइतबार बसेको कार्यपालिकाको बैठकले साउनको १० गतेकालागि नगर सभा डाक्ने निर्णय गरेको छ ।
सोही सभामा नेकपाले नगरमा भएका अनियमित खर्च विवरण सहितको छानविन प्रतिवेदन पेश गर्ने बताउँदै आएको छ । आफुहरुको माग बमोजिम सहमति भएको बताउँदै आएका नेकपाका प्रतिनिधिहरुले नगर प्रमुखसँग भएको सहमतिले गतिरोध अनत्य भएको बताई रहँदा नेपाली काँग्रेस नगर कार्य समितिले जारी गरेको पछिल्लो विज्ञप्तीले नगरमा थप भुइचालो निम्त्याउने अवस्था सृजना गराएको दलिय नेता तथा कार्यकर्ताहरुको ठहर छ । नेकपाका नगर संसदीय दलका नेता समेत रहेका वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङले पछिल्लो घटनाक्रमले नगरभित्र प्रतिसोधको राजनिति सुरु गराएको प्रतिकृया दिएका छन् । सहमति भएर नगरसभाको प्रकृया अघि बढाइन लाग्दै गर्दा विपक्षीबाट प्रतिसोधको राजनिति सुरु गरे आफुहरुपनि सोही अनुरुप अघि बढ्न तयार रहेको बताएका छन् । नेकाको विज्ञप्ती पश्चात नेकपाको नगरस्तरीय बैठक डाकिएको बुझिएको छ । बैठकको निर्णय पछि आधिकारिक जानकारी गराइने नेकपाले जनाएको छ।








