अनियमितताको आरोप लगाईएपछि नेकपा इनरुवा नगर कमिटीले नेपाली काँग्रेसलाई आरोप सार्वजनिक गरी देखाउन चुनौति दिएको छ । स्वयं नगर प्रमुख संसदीय दलको नेता रहेको नेपाली काँग्रेस नगर कार्य समितिले नेकपाका वडाको हिसाब केलाउन समिति गठन गरेको विषयलाई लिएर पत्रकार सम्मेलन आयोजना गरेको नेकपा इनरुवा नगर कमिटीले काँग्रेसलाई अनियमितता प्रमाणित गरी देखाउन खुल्ला चुनौति दिएको हो । पछिल्लो घटना क्रमलाई नेकपाले नगर प्रमुखको हतास मनस्थितिको पराकाष्ठाको संज्ञा दिएको छ ।

बन्दै गरेको सहमति भाँड्ने गरी भएका प्रयासले स्वयं नगर प्रमुखलाई आघात पु¥याउने बताएको नेकपा इनरुवा नगर कमिटीले नियोजित रुपमा नेकपाका वडाहरुमा ब्यापक भष्ट्राचार भएको भनिनुलाई गम्भिर रुपमा लिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर अध्यक्ष तिर्थराज अधिकारीले आरोप प्रमाणित नगरिए आफुहरु पार्टीगत निर्णय बमोजिम अघि बढ्ने बताए । पत्रकार सम्मेलनमा नगरपालिकाले गरेका अनियमित खर्च विवरण समेत सार्वजनिक गरिएको थियो ।
मेयरको ठाडो आदेशमा भएका खर्च सहित एउटै शिर्षकमा लाखौं रकम सिध्याइएको र मेयरको व्यक्तिगत स्वार्थका कारण इनरुवा खानेपानीकालागि नगर परिषद्बाट छुट्याइएको १६ लाख रकम नदिई सतप्रतिशत रकमान्तर गरी अन्य शिर्षकमा खर्च गरिएका जस्ता विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा नेकपा इनरुवाका संसदीय दलका नेता कालुराम गुरुङले नगरमा बन्दै गरेको सहमति भाँडिने अवस्थामा पुगेकाले साउन १० गतेकालागि डाकिएको नगर सभामा नेकपाका जनप्रतिनिधि सहभागि नहुने बताए ।
पार्टीले समेत उपस्थित नहुन भनेकाले आफुहरु नगरसभामा सहभागि नहुने गुरुङले बताएका हुन् । गुरुङले नगर प्रमुखकै कारण नगरसभाको अन्यौलता थप लम्बिने सम्भावना बढाएकाले त्यसो भए सम्पूर्ण जिम्मेबारी स्वयं नगर प्रमुखकै हुने स्पष्ट पारे । उता नगर प्रमुुख राजन मेहताले भने आफुबाट गल्ति भएको भए सच्चिएर सहमतिसाथ अघि बढ्न तयार रहेको प्रतिकृया दिएका छन् ।








