आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियानमा जुटेका इनरुवाका स्थानीय युवा सुन्दर नगरको परिकल्पना साथ सृजनात्मक कार्यमा जुटेका छन् ।महेन्द्रचौक क्षेत्रलाई हरियाली सहित सुन्दर र सफा चोक बनाउन जुटेका युवाहरु जनश्रमदान जुटाएर संरचना निर्माणमा जुटेका हुन् ।सडक पेटीमा आकर्षक चौतारो निर्माण गरी रङ्गरोगनमा जुटेका युवाहरु बाटोमा गमला राखेर बिरुवा रोप्ने सम्मको तयारीमा छन् ।महेन्द्रचौक क्षेत्रमा केहि वर्ष पहिला सडक छेउ प्रशस्त मात्रामा रुख बिरुवा थिए । सडक संचरना निर्माणका साथै अन्य विभिन्न बहानामा रुख काटिएसँगै उजाड बन्न थालेको चोकलाई हराभरा र आकर्षक बनाउन युवाहरु अग्रसर भई लागेको राकेश निरौलाले बताए ।

निरौलाका अनुसार युवाको अभियानमा स्थानीयको समेत साथ र सहयोग प्राप्त भएको छ । टोलबासी सहित सबै अग्रज र सहकर्मी युवाहरु हरित र सफा चोक निर्माणमा जुटेका छन् ।संरचना निर्माणकालागि आवश्यक सहयोग केहि मात्रामा वडा कार्यालयले उपलब्ध गराएको छ । बाँकीको हकमा स्वयं युवाहरुलेनै जुटाएका छन् । इनरुवामा सांगितिक माहौल सृजना गराउन सफल बनेको इनरुवा इभेन्ट म्यानेजमेन्टमा आवद्ध युवा जमात समेत चोक निर्माणमा जुटेको छ । सडक पेटीमा फालिने फोहोरको उचित व्यवस्थापन सहित ठेला ब्यापारलाई व्यवस्थित गरिएकाले चोक सुन्दर र सफा बन्न थालेको महेन्द्रचोकवासी बताउँछन् ।

अरुको मुख ताक्नुको साटो स्वयं जागरुक हुन सके बिकास सहितको परिवर्तन सम्भव हुने विश्वासकासाथ चोक निर्माणको सामूहिक कार्यमा जुटेको अरबिन्द केसीले बताए । आफुहरुले चालेको कदम अन्य वडाका युवासहित स्थानीयवासीका हकमा सिकाई हुने भएकाले सबैले आ–आफ्नो जिम्मेबारी बहन गरे नगरपालिकाले अघि सारेको समृद्ध नगरको परिकल्पना साकार हुने किरण निरौलाले विश्वास व्यक्त गरे । निरौलाले चोकमा राख्नकालागि ४० हजार बराबरको पार्क बेन्च सौजन्य समेत गरेका छन् ।
इनरुवाकै सखुवागाछीमा केहि महिना अघि सोही क्षेत्रका युवासहित स्थानीय सफा, सुन्दर र नमूना चोक निर्माणमा जुटेका थिए । सो क्षेत्रमा यतिबेला रोपिएका बिरुवा हलक्कै बढेका छन् । स्थानीयको पहलले चोकको आकर्षण समेत बढाएको छ ।वडा नम्वर ३ ले विशेषगरी युवाहरुलाई हौसाएर रचनात्मक कार्यमा सहभागिता जुटाउँदै आएको छ । वडाध्यक्ष कालुराम गुरुङले नमूना वडा बनाउने आफ्नो अभियान जारी रहेको बताउँदै आवश्यक साथ र सहयोगकालागि सदैव तत्पर रहेको उनले प्रतिवद्धता समेत जनाए ।








