जेष्ठ नागरिकहरुकालागि इनरुवाको मधेशामा सामूहिक दर खुवाउने कार्यक्रमको आयोजना गरिएको छ । साविकको मधेशा गाविसको वडा नम्वर ६ र ७ मा रहेका जेष्ठ नागरिककालागि सामूहिक तिज तथा दर कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय महिलाहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

गएको केहि वर्षयता जेष्ठ नागरिककालागि निरन्तर रुपमा सामूहिक तिज कार्यक्रम आयोजना गर्दै आएका महिलाहरुले सामूहिक नाचगान र संयुक्त रुपमा दर खुवाउने कार्यक्रमको आयोजना गरेका हुन् । प्रमिला पोखरेलले जेष्ठ नागरिकको सम्मानकालागि सामूहिक तिज तथा दर कार्यक्रम आयोजना गर्दै आएको बताइन् । इक्षा अनुसारको भोजनकोे व्यवस्था मिलाई तिजको अवसरमा वर्षेनी सामूहिक कार्यक्रमको आयोजना गर्दै आएको उनले बताइन् ।
बुढ्यौलीसँगै घरबाहिर हिंडडुलको सम्भावना कम हुने भएकाले समेत सामूहिक तिज कार्यक्रम जेष्ठ नागरिकहरुकालागि भेटघाट र भलाकुसारी गर्ने माध्यम बन्ने गरेको मैया घिमिरे बताउछिन् । हिंडडुल गर्न नसक्ने जेष्ठ नागरिकको हकमा आवतजावतको व्यवस्था समेत मिलाउदै आएको समिता कोइरालाले बताइन् । । तिज कार्यक्रममा भेला भएका जेष्ठ नागरिकहरुले एकैस्थानमा भेला हुने र भलाकुसारीको अवसर जुटाइदिने गरेकाले सामूहिक तिज कार्यक्रम आफुहरुकालागि मनका वह र पीडा पोख्ने माध्यम बनेको बताएका छन् ।








