- अमर काफ्ले

इनरुवा।खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले निर्माण गराएको खानेपानी ट्याङकी हस्तान्तरण अगावै जिर्ण बनेको छ । इनरुवा नगरपालिकाको वडा नम्वर ५ देवेन्द्र चौक नजिक निर्माण गरिएको खानेपानीको ट्याङकी पूर्ण रुपमा संचालनमा नआउँदै चुहिन थालेको छ । ४ सय ५० घनमिटर ओभरहेड ट्याङकी निर्माणकालागि डिभिजन कार्यालय इटहरीले माङ्गसुवा=शाह जेभी इनरुवालाई कार्यादेश दिएको थियो ।

२०७३ साल बैशाख २४ गते खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले निर्माण कम्पनी माङ्गसुवा, शाह जेभी इनरुवालाई ४ सय ५० घनमिटर ओभरहेड टंकी निर्माण कार्यकालागि कार्यादेश दिएको थियो । डिभिजन कार्यालय इटहरी अन्र्तगत संचालित इनरुवा खानेपानी आयोजनाको ठेक्का नम्वर ५=०७२–७३ अनुसार ट्याङकी निर्माणको समयसीमा २०७४ कात्तिक २३ गते सम्म रहने गरी निर्माण कम्पनी माङ्गसुवा=शाह जेभी इनरुवालाई कार्यादेश दिएको देखिन्छ । २ करोड ८ लाखको लगत स्टिमेट रहेको ट्याङकीको सम्झौता कबोल रकम भ्याट सहित १ करोड ५२ लाख ९३ हजार ६ सय ५ रुपैंया ८६ पैशा उल्लेख छ ।

काम सकाएर निर्माण कम्पनीले पाउनु पर्ने रकम भुक्तानी लिई सकेको छ । त्यतिमात्र नभएर ट्याङकी मर्मतका नाममा प्राप्त हुने रकम समेत सुरुवाती अवस्थामै निकालेर खर्च गरिएको छ ।निर्माण कम्पनीले आवश्यक कागजात बुझाएर काम सकिएको आधारमा प्राविधिकको अनुगमन पश्चात सम्झौता अनुरुपको भुक्तानी प्राप्त गरेको बताउँदै आएको छ । निर्माण कम्पनीले म्याद थप गरी काम सकाएर भुक्तानी लिइसक्दा समेत उक्त संचरना इनरुवा खानेपानीका नाममा अहिलेसम्म हस्तान्तरण भने भएको छैन् । बलाहामा ५ कट्ठा जग्गामा ४ लाख लिटर क्षमताको खानेपानी ट्याङकी सहितका संरचना निर्माण गरिएको हो । १८ सय धारा जडान गर्ने लक्षसाथ खानेपानी ट्याङकी निर्माण गरिएको भएपनि ट्याङकी चुहिन थालेकाले डाइरेक्ट पानी सप्लाई गर्ने गरिएको छ ।

स्थानीयवासीहरु नयाँ पानी ट्याङकी भएरपनि निरन्तर पानी चुहिने समस्या देखिएकाले निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको दावी गर्छन् । स्थानीय रमेश भट्टराई हस्तान्तरण पूर्वनै ट्याङकीमा समस्या देखिएकाले भविष्यमा जोखिमपूर्ण हुन सक्ने तर्फ बेलैमा सजक हुनुपर्ने बताउँछन् । हस्तान्तरण पूर्वनै संरचना जिर्ण बनेकाले इनरुवा खानेपानी उपभोक्ता संस्थाको कार्यालयले समेत उक्त संरचना बुझ्न नसकिने स्पष्ट पारेको छ । हस्तान्तरण नभईकनै पानी चुहिने समस्या देखिएकाले उक्त संरचना हस्तान्तरण गरिए आफुहरुले नबुझ्ने कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले ट्याङकी मर्मत बापतको रकम समेत सुरुवाती अवस्थामै निकालेर खर्च गरेको भन्ने जानकारीमा आएको बताउने इनरुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु पानी चुहिने समस्या देखिनुले संरचनाको गुणस्तरमा प्रश्न खडा भएको बताउँछन् । इनरुवा खानेपानीका अध्यक्ष दिनेश सुवेदी जानिजानि जिर्ण संरचना बुझ्ने कुरै नआउने बताउँछन् । पानी दिनहुँ चुहिरहेको छ । इटहरी स्थित खानेपानी डिभिजन कार्यालयलाई जानकारी गराउँदा सामान्य भनेर पन्छिने गरेको उनको भनाई छ । उनले भने, “हस्तान्तरणको कुरो उठ्दै छ । यद्यपी हामी बुझ्ने अवस्थामा भने छैनौं ।”

सुवेदीका अनुसार ट्याङकी टालटुल गरी थमाउने प्रयास गरिए उपभोक्ता समितिका पदाधिकारी, सेवाग्राहीका साथै सरोकारवाला सहितको आमभेला बोलाएर सार्वजनिक कार्यक्रमको अयाोजना गरिने छ । सर्वपक्षिय निर्णय बमोजिम मात्रै त्यसअघिको प्रकृयामा आफु अघि बढ्ने सुवेदीले बताए । सुवेदीको बुझाईमा ट्याङकीमा देखिएको समस्या कमसल सामग्री प्रयोग पछिको परिणाम हो । जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले त्यसतर्फ निश्पक्ष छानविन आवश्यक रहेको उनको भनाई छ । उता खानेपानी ट्याङकी निर्माणको कार्य गरेको शाह निर्माण सेवाका प्रोपाईटर जयप्रकाश साहले कमसल सामग्री प्रयोग भएको भन्ने विषय झुटो भएको बताएका छन् । सम्झौता अनुरुप काम गरिएको दावी गर्ने साहले निर्माण कार्य सम्पन्न भएपछि डिभिजन कार्यालयले अनुगमन गरी पास गरेपछि आफुले भुक्तानी पाएको बताए । साहले ट्याङकीबाट थोरै मात्रामा पानी रसाउनु सामान्य भएपनि निरन्तर चुहिएको भन्ने सन्दर्भ प्राविधिक लगेर नीरिक्षण गराई ठहर भए मर्मत गर्नु परको खण्डमा आफु पछि नहट्ने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia