- अमर काफ्ले

इनरुवा। गर्मी बढेको कारण देखाउँदै इनरुवा नगरपालिकाले शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार र शुक्रबार नगरभित्रका सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । नगर प्रमुख राजन मेहताद्धारा हस्ताक्षरित सूचनामा अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या देखिएकाले बिद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । नगरपालिकाको कार्यालयले नगरभित्र संचालनमा रहेका सामूदायिक, संस्थागत सहित सबै धार्मिक विद्यालयलाई निर्णय कार्यान्वयनमा ल्याउन भनेको छ । यद्यपी नगरपालिकाको निर्णय प्रति शिक्षा क्षेत्रका सरोकारवालाहरुले भने असन्तुष्टि जनाएका छन्् । विभिन्न वहानामा दिइने बिदाले विद्यालयको पाठ्यक्रम प्रभावित हुने उनिहरुको भनाई छ ।

गर्मी बढेको कारण देखाउँदै नगरपालिकाले दुई दिन नगर भित्रका सबै शैक्षिक संस्था बिदा हुने निर्णय कार्यान्वयन गर्न सूचना जारी गरेसँगै शैक्षिक क्षेत्रका सरोकारवाला सहित विद्यालय संचालक तथा शिक्षकहरुले उक्त निर्णय प्रति बिमती जनाएका छन् । सुनसरीका १२ वटा स्थानीय तह मध्ये इनरुवा नगरपालिकाको कार्यालयले बढी मात्रामा सार्वजनिक बिदा दिने गरेको उनिहरुको भनाई छ । चाडपर्व लक्षित सीमित बिदा दिइनु पर्नेमा जोड दिएका अभिभावकहरुले अत्यावश्यक परेमात्र अन्य अवस्थामा शैक्षिक संस्था सार्वजनिक बिदा गरिनु पर्ने बताउँछन् ।इनरुवामा बिदाको लहर चलेको बताउने नगरवासीहरु शैक्षिक संस्था बन्द गर्ने सवालमा नगरपालिकाको कार्यालय र शैक्षिक संस्थाका अगुवाहरुबीच आपसी समन्वय अभाव देखिएको बताउँछन् ।

बिदा दिइदा बिद्यार्थीमा भने मेयर राजन मेहताको जयजयकार भैरहँदा अभिभावहरुमा भने नैराश्यता बढाएको छ । बिदाको प्रशंगलाई लिएर व्यङग्य समेत गर्ने क्रम बढेको छ । संयोग नै मान्नु पर्छ : इनरुवामा बिदा दिइएपछि मौसममा एकाएक परिवर्तन आउने गरेको छ । लोकप्रियताको नाममा नगरपालिकाले हरेकजसो चाडपर्वका नाममा दिने गरेको सार्वजनिक बिदा समेत रोक्नु पर्ने स्थानीयस्तरमा बहसको विषय बन्न थालेको छ । पूर्व प्रअ तथा नागरिक समाजका अगुवा पु्रुषोत्तम घिमिरे अत्यावश्यक अवस्थामा बाहेक विद्यालय बन्द गर्न नहुने बताउँछन् । स्थानीय सरकार भएकाले बिदा सम्वन्धमा निर्णयको अधिकार भएतापनि आवश्यकता भन्दा बढी बिदा गरिदा विद्यार्थीमा पर्न जाने दुरगामी असरबारे ख्याल गर्न जरुरी रहेको उनको भनाई छ ।

प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला इनरुवा नगरपालिकाले दिने गरेको बिदाले आजित भएको बताउँछन् । कोइरालाले भने, “नगरभित्र हर कुनै प्रशंगमा बिदा दिन थालिएको छ । समन्वय र सहकार्य बेगरनै निर्णय गर्ने गरिएको छ । जसले गर्दा समेत विद्यालयको हकमा समयमै पाठ्यक्रम सकाउन असहजपूर्ण अवस्था देखिन थालेको छ ।”आसपासका स्थानीय तहले बिदा नगर्ने तर इनरुवाले भने ससाना कारण देखाउँदैे बिदा दिने परिपाटी रोकिनु पर्ने कोइरालाको भनाई छ । उनले अत्यावश्क अवस्था बाहेकको हकमा बिदा दिनु भन्दा शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार लगायतको अवस्था यकिन गरी ठोस नीतिका साथ सुधारका पाटाहरु अघि बढाउनु उचित हुने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन एक नम्वर प्रदेशका उपाध्यक्ष समेत रहेका बालमन्दिर माबिका प्रअ सत्यनारायण मेहताले इनरुवामा नगरपालिकाले आवश्यकता भन्दा बढी शैक्षिक संस्था बिदा दिने गरेको बताए । स्वयं विद्यार्थी र शिक्षकहरुकै असन्तुष्टिका बिच समेत बिदा कार्यान्वयन गर्न बाध्य हुनुपरेको उनले बताए । मेहताले शैक्षिक संस्था बढी बिदा गरिँदा समयमै पाठ्यक्रम सक्न गाह्रो हुने बताए । मेहताले बिदा संख्या थप्नुको साटो दीर्घगामी नीति र योजना बनाई कार्यान्वयनमा ल्याउन उचित हुने सुझाव दिए ।उता इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले गर्मी बढेकाले नगरभित्रका शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिए । नगरपालिकाको कार्यालयले स्थानीय तहको हकमा लागु हुनेगरी बनाएको शैक्षिक क्यालेण्डर अनुरुप कार्यान्वयनमा आउने गरी गर्मी बिदाको निर्णय गरिएको उनले बताए ।

बिदा दिइएको सम्वन्धमा नगर प्रमुख राजन मेहताले भने सरकारी विद्यालयको अवस्था र विद्यार्थीको कष्टकर दैनिकीलाई ख्यालमा राखी उक्त निर्णय गरिएको जानकारी दिए । अधिकांश संस्थागत विद्यालयहमा विद्यार्थी ओसार्ने देखि सहज पठनपाठनकालागि आवश्यक यथोचित बन्दोवस्ती मिलाइने हुँदा खासै समस्या नपरेपनि सामूदायिक विद्यालयका हकमा स्रोत साधन अभावमा विद्यार्थीले सास्ती झेल्दै आइरहनु परेकाले अत्याधिक गर्मी बढेकाले बिदा दिइएको उनले जनाए । मेहताले नगर भित्रका सबै शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिने बताए । भौतिक संरचनाको अवस्था अनुगमन पश्चात पंखा र खानेपानीको व्यवस्था भए नभएको यकिन गरी उचित बन्दोवस्तीकालागि निर्देशन दिइने उनले बताए । मेहताले संस्थागत विद्यालयको हकमा समेत विद्यार्थीको संख्या अनुरुपको सेवा सुविधा बारे अनुगमन गरिने बताए । नगरभित्र ३ मदरसा सहित सामूदायिक र संस्थागत गरी जम्मा ५२ वटा विद्यालय रहेको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia