
(फोटो फिचर )
अमर काफ्ले इनरुवा पुष १५/
सुनसरीको इनरुवामा आज दिउँसो मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीवीच झडप भएको छ ।
भाटा सहित निस्केको मोर्चाको जुलुसले प्रहरी घेरा तोड्ने क्रममा तनाव बढेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
विहानैबाट विरोधका कार्यक्रम गर्दै आएका मोर्चा कार्यकर्ताहरुको भिडले मुल बजार हुँदै अस्पताल प्रवेश गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

उपप्रधान मंत्री विजयकुमार गच्छदारको कार्यक्रम स्थल उद्योग वाणिज्य संघ इनरुवाको सभा हल प्रवेशका सवै नाकाहरुमा विहानैबाट प्रहरीले विरोधका कार्यक्रम गर्न रोक लगाएको थियो ।

कार्यक्रम स्थल प्रवेशका लागि प्रहरीको घेराबन्दी तोड्ने क्रममा भएको झडपमा परी मोर्चाका एक दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । उनिहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको छ । झडपको क्रममा प्रहरीको लाठी चार्जबाट संघिय समाजवादी फोरम नेपाल सुनसरीका सचिव गुलाव शर्मा, मोर्चाका कार्यकर्ताहरु हरिलाल यादव, सचेन्द्र प्रसाद यादव,पशुराम यादव, धर्मबिर आर्य, सद्री मेहता, रामसागर मेहता, कुसुमलाल यादव, लखन मेहता, लगायतका कार्यकर्ताहरु घाईते भएका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले चुनचुन यादवलाई नियन्त्रणमा लिएको संघिय समाजवादी फोरम नेपाल सुनसरीका अध्यक्ष भगिरथ खत्वेले बताए ।
मंत्री गच्छदार आउने खबर सँगै मोर्चाले विहानैबाट इनरुवा बजार क्षेत्रमा प्रर्दशन चर्काएको थियो । टायर बालेर प्रर्दशन गरेको मोर्चाले कालो झण्डा सहित पटक पटक कार्यक्रम स्थल प्रवेश गर्न खोजेको प्रयासलाई प्रहरीले विफल पारेको थियो ।

मोर्चाको प्रर्दशन र झडप सँगै मध्यान्हपछि इनरुवा बजार तनावपूर्ण बनेको थियो । आन्दोलनकारीले प्रहरी माथि ढुङगामुढा थालेपछि प्रहरीले प्रर्दशनकारीलाई लखेटेको थियो ।

उपप्रधान मंत्री विजय गच्छदार अगुवा कार्यकर्ता भेटघाटका लागि इनरुवा पुगेका थिए । मंत्री गच्छदारले आफुले राखेको ८ प्रदेशको प्रस्ताव सरकारले नमान्दा मुलुकमा द्धन्द्ध चर्केको बताए । वार्ताकै माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने मंत्री गच्छदारको भनाई थियो ।








