इनरुवा/ नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीले बाँके घटनाका दोषि उपर कार्वाहीको माग गरेकोे छ । काँग्रेसले सो घटनाको निष्पक्ष छानविनको माग समेत गरेको छ ।राष्ट्रिय जनजागरण अभियानका क्रममा बाँके काँग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको भत्सर्ना गरेको सुनसरी काँग्रेसले दोषिलाई कानुनी दायरामा ल्याउन माग गरेको हो ।

पार्टी सभापति समेत रहनु भएका प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षि दलका नेता राजिब कोइराला नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरी पुगी ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्र बुझाउन जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारी, पार्टी सचिव केदार भण्डारी लगायत जिल्ला तथा नगर स्तरीय नेताहरु प्रशासन कार्यालय पुगेका थिए ।जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय र प्रधानमंत्रीको कार्यालयलाई पठाइएको ज्ञापन पत्रमा वर्तमान नेकपाको सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न असक्षम भएको उल्लेख गरिएको छ ।

मुलुकमा हत्या, हिंसा र भ्रष्टाचार बढेकाले सर्वसाधारणमा वर्तमान सरकार प्रतिको विश्वास गुमेको सुनसरी काँग्रेसको ठहर छ । उसले बाँके सभापति माथि आक्रमण गर्ने उपर कार्वाही नभए आन्दोलन छेड्ने चेतावनी समेत दिएको छ ।









