इनरुवा/उद्योग वाणिज्य संघ इनरुवाको मत गणना स्थगित भएको छ । नयाँ कार्य समितिकालागि शनिबार भएको मतदान पश्चात आइतबार बिहानबाट सुरु हुने भनिएको मत गणना अनिश्चितकालका लागि स्थगित गरिएको हो ।सदर र बदर मतको विषयमा सहमति जुट्न नसकेपछि गणना स्थगित गरिएको निर्वाचन समितिका संयोजक कृष्ण दाहालले बताए । दाहालका अनुसार स्वस्तिक चिन्ह छापको विषयमा उत्पन्न विवादपछि सहमति नजुटुनजेल सम्मकालागि गणना कार्य स्थगित गरिएको छ ।

मत पेटिका खोल्नु पूर्वनै गणनाको प्रकृयागत बिषय र बुदाँहरुमा सम्बन्धित पक्षबिच सहमति जुट्न नसकेकाले मतपेटिका प्रहरीको सुरक्षामा राखेर गणना अनिश्चितकालको लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।मत गणनाको कार्य सुरु हुन नसक्नुमा लोकतान्त्रिक र समावेशी दुवै प्यानलले आआफ्नो प्रतिकृया जनाएको छ ।निर्वाचनका क्रममा एकातर्फ मात्र स्वस्तिक छाप भएको स्टाम्प प्रयोग गरिएकाले झुकिएर दुवै तर्फ मतदान भएको हुन सक्ने भन्दै त्यस्ता मतलाई समेत सदर गरिनु पर्ने लोकतान्त्रिक पक्षको माग छ ।उसले स्टाम्पमा एकातर्फ मात्रै स्वस्तिक रहेको भन्ने विषय निर्वाचन समितिले पहिलानै थाहा नदिएको बताएको छ । यसअघिका निर्वाचनमा देखिएका मसीको थोप्ला जस्ता सामान्य त्रुटीलाई मान्यता दिइएकाले निर्वाचन समितिले स्वस्तिकको विषय पहिलानै स्पष्ट नपारेको हुँदा त्यस्ता सबै मत सदर हुनुपर्ने उसको माग छ ।यता समावेशी समूहले भने स्वस्तिक बाहेकको अन्य कुनैपनि चिन्ह मान्य नहुने अडान राखेको छ ।उता निर्वाचन समितिका संयोजक दाहालले निर्वाचन पूर्वनै स्टाम्पको विषय तय गरिएको बताए । सर्वपक्षिय सहमतिकै आधारमा स्वस्तिक चिन्ह छाप भएको स्टाम्प बनाउने भनि भएको सहमति अनुरुप निर्वाचन प्रकृया र मतदानको क्रमलाई अघि बढाइएको दाहालले बताए ।सहमतिका लागि गरिएको दिनभरको प्रयास असम्भव भएपछि दलीय सहितको आपसी सहमति नभए सम्मकालागि सुरक्षाकर्मीको निगरानीमा मत पेटिका सुरक्षित राखिएको उनले बताए ।









