हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहामा आईतबार कांग्रेसको दोस्रो चरणको जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । अभियानको दोस्रो चरण अन्तरगतको कार्यक्रमहरू मध्ये वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तार गरी गाउँ–गाउँमा रहेका काँग्रेसका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व श्रम राज्य मन्त्री दिलिप गच्छदारले काँग्रेसको वडा संगठनको समीक्षा, वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समिक्षा तथा समग्रमा कांग्रेस सुदृढीकरणकालागि काँग्रेसले अभियान थालेको बताए ।

कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई तिहाईको कम्युनिष्ट सरकारप्रति जनताको आशा, विश्वास र भरोसा घट्दै गएको बताए । वर्तमान सरकारले नेपाली जनताको हितमा काम गर्न नसकेकोले सरकार प्रति समाजमा वितृष्णा बढ्दै गएको उनले बताए । यसैगरी प्रदेश १ का सदस्य हाजी ताहिर अन्सारीले नेपाली कांग्रेस पार्टी जनताको मर्म बुझेकोले कार्यकर्ताहरु पार्टी भित्र एक जुट भएर जनतामाझ पुग्न आवश्यक रहेको बताए । सोही कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले काँग्रेसले सबैभन्दा पहिला संगठन मजबुत बनाउनु पर्ने बताए । पार्टी संगठनमा कुन कुन ठाउँमा कमि कमजोरी भएको छ सबैभन्दा पहिला त्यसलाई व्यवस्थित गर्नु पर्ने उनले बताए । सुनसरी जिल्लामा सबै भन्दा बलियो पार्टी नेपाली कांग्रेस पार्टी भएकोले अगामी दिनमा थप बलियो बनाउन काँग्रेसले दोस्रो चरणको जनजागरण अभियान सूरु गरेको उनले बताए । कार्यक्रममा जमिल अन्सारी, जिल्ला सदस्य नुनु अन्सारी, स्थानीय युवा नेता अकिल अन्सारी लगायतले बोलेका थिए ।









