इनरुवा। उद्योग संचालनकालागि भएको सहमति कार्यान्वयन नगरेको भन्दै गढी गाउँपालिकाको कार्यालय चौधरी ग्रुप प्रति रुष्ट बनेको छ । वडा नम्वर २ मा संचालनमा रहेको वाइवाइ उद्योगले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाको कार्यालयसँग भएको सम्झौता पालना नगरेकाले कानुनी प्रकृया अघि बढाइने जनाएको छ । आवेदन खुला नगरी आफुखुशी कर्मचारी भर्ना गरेको, जग्गादाता सहित स्थानीयहरुलाई प्राथमिकता नदिएको, विना स्विकृत संरचना निर्माण गर्नुका साथै आपसी समन्वय कायम नगरी मनपरी गर्ने गरेको गाउँपालिकाको भनाई छ ।

गाउँपालिकाको कार्यालयले दुई पक्षबिच भएको सहमति कार्यान्वयनमा नल्याउनुको कारण सहित लिखित जवाफ फर्काउनु भन्ने आशयको पत्र समेत उद्योगका नाममा काटेको छ । तीन दिनको म्याद दिइएको पत्रमा गाउँपालिकासँग भएको सम्झौता कार्यान्वयनमा नल्याउनुको कारण पेश गर्न भनिएको छ । स्थानीय तवरमा वाइवाइ उद्योगका विरुद्धमा असन्तुष्टिका स्वरहरु बढ्न थालेपछि गाउँपालिकाको टोलीले उद्योगको स्थलगत अनुगमन समेत गरेको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीको नेतृत्वमा उद्योग पुगेको टोलीले कामदारको अवस्था, तलब सुविधा, उत्पादन प्रकृया, सरसफाईका अलावा कर्मचारी भर्ना प्रकृया लगायतको बारेमा जानकारी बटुलेको थियो । उपाध्यक्ष चौधरीले जनगुनासो बढेसँगै उद्योग प्रतिको विश्वसनियतामा प्रश्न खडा भएको भन्दै अनुगमन गर्नु परेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले उद्योगले गाउँपालिकासँग गरेको सम्झौता पालना नगरेको बताए । भवन, कार्यालयको घर नक्सा पास, सडक निर्माण तथा मर्मत, कर तथा रोजगारी लगायतका विषयमा भएको सहमति कार्यान्वयनमा नआएको गाउँपालिकाले जनाएको छ । वडा नम्वर २ का अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा उद्योगका प्रतिनिधि सहित बसेको बैठकका क्रममा भएको सहमति उद्योगले कार्यान्वयनमा नल्याएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए । यादवले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकासँग समन्वय र सहकार्य नगरी उद्योग सञ्चालनमा रहेको भन्दै आक्रोस पोखे । उनले भएका सहमति पालना नगरी अघि बढ्न खोजे स्थानीय सरकार समेत सोही अनुरुप कानुनी प्रकृयाको बाटोमा बढ्ने बताए । अध्यक्ष यादवले कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनु पर्ने भन्दै गाउँपालिकासँगको समन्वय बेगर अघि बढ्न खोजे आफुहरुलाई मान्य नहुने बताए । उता सीजी फ्रुड्स औरावनीका प्रशासन प्रवन्धक सञ्जय भट्टराईले गाउँपालिकाले लगाएको आरोप निराधार रहेको बताएका छन् । केहि प्रकृयागत कामहरु सम्पादनको चरणमा रहेपनि उद्योग प्रशासन प्रति लक्षित गरी लगाइएका अरोपमा सत्यता नभएको उनले बताए । भट्टराईले गाउँपालिकासँग भएको सहमति अनुरुपनै आफुहरु अघि बढिरहेको बताए । कर्मचारी भर्नाको सवालमा स्थानीयलाई नै प्राथमिकता दिइएको बताएका भट्टराईले आवश्यकता अनुरुप जनशक्ति भर्ना गरिने भएकाले सबै क्षेत्रमा सोर्सफोर्स भने बाध्यकारी हुन नसक्ने बताए ।










