इनरुवा। सुनसरीका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सदरमुकाम इनरुवा सहित इटहरी र धरानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दशैं तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहायता कक्षले यात्रुहरुको गुनासो समाधान गर्नुका साथै सवारी व्यवस्थापन, सहज यात्रा र टिकटमा हुने ठगि उपर निगरानी गर्ने छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी बिनोद शर्माका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खटिने सुरक्षाकर्मीको टोली चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउने प्रयत्नमा जुट्ने छ ।

यात्रु सहायता कक्षमा सर्वसाधारणले जुनकुनै बेला सम्पर्क गरेर गुनासा टिपाउने सक्ने व्यवस्था मिलाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले मनपरी भाडा रोक्नु र सहज यात्राको वातावरण मिलाउँदै दुुर्घटना न्यूनिकरण जोडदिनु सहायता कक्षको प्रमूख दायित्व रहने जनाएको छ । यसैबिच सुनसरीको धरानमा संघीय प्रहरी इकाई कायालयका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक सौरभ राणाको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिनुकासाथै सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको कामना सहितको कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।










