इनरुवामा सीबी सिनेमा हल सञ्चालनमा आएको छ । फुल एसी सहित फोल्डिङ सिट रहेको डिजिटल हल आजबाट सञ्चालनमा ल्याइएको हो । हलमा आजबाट कबड्डी कबड्डी कबड्डी प्रर्दशनमा ल्याइएको छ । पर्सीबाट भने अल इण्डिया रिलिजकासाथ प्रर्दशनमा आउने ऋतिक रोशन र टाइगर श्राफद्वारा अभिनित वार प्रर्दशनमा ल्याइने बताइएको छ ।नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल सञ्चालनमा ल्याएका हुन् ।१ करोड ३० लाख लागतमा संचालनमा ल्याइएको हलको दर्शक क्षमता १ सय ४८ रहेको छ । हलमा २ वटा फेमिली बक्स राखिएको छ । परिवार सहित सिनेमा हेर्न चाहनेले टिकट अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । ९ र ११ सिट क्षमताको फेमिली बक्समा सबै सिट बुकिंग गर्नेलाई २ जना बराबरको टिकटमा छुट दिइने सीबी सिनेमाका संचालक चिरञ्जिवी बस्नेतले बताए ।

सिनेमाकालगि टिकट दर भने दुई थरी कायम गरिएको छ । ठूलो बजेटको फिल्मको हकमा २ सयको टिकट लाग्ने छ । अन्य फिल्मको हकमा १ सय ५० र १ सय २५ रुपैयाको टिकट निर्धारण गरिएको सीबी सिनेमा इनरुवाले जनाएको छ । हलमा क्याफे समेत संचालनमा ल्याइएको छ ।फिल्म हेर्न जाने दर्शकले बाहिरबाट कुनै सामान भने लिएर हल भित्र प्रवेश गर्न पाउने छैनन् ।

हलभित्र चुरोट, गुट्खा प्रतिवन्ध लगाइएको संचालक बस्नेतले बताए । धुम्रपान गर्नेकालागि भने बेग्लै कक्ष बनाइएको उनले बताए । पानी, पपकर्न जस्ता सामान भित्रै खरिद गर्ने व्यवस्था मिलाइएको बस्नेतले बताए ।भरपर्दो सुरक्षा बन्दोवस्ती सहित संचालनमा ल्याइएको आधुनिक र सुविधा सम्पन्न थ्रीडी सिनेमा हल सदरमुकाम इनरुवा सहित आसपासको क्षेत्रका फिल्म पारखीहरुकालागि मनोरञ्जन दिलाउने प्रमुख थलो बन्ने संचालक बस्नेतले बताए ।









