इनरुवा अस्पतालमा यतिबेला दुई जना वेवारिसे महिला छन् । घरपरिवारको ठेगान नभएका दुई मध्ये एक महिला ओसीएमसीको रोहवरमा छिन् ।अर्की भने इमरजेन्सी कक्षमा पूर्णतया वेवारिसे अवस्थामा रहेकी छिन् । असोज ३ गते वेहोसी अवस्थामा प्रहरीले फेला पारी उनलाई इनरुवा अस्पतालमा पुर¥याएर छाडेको थियो । मधेशी मूलकी अन्दाजी ३५–४० वर्षिया महिला इमरजेन्सी कक्षमा उपचार पश्चात सोही परिषरमा रहेकी छिन् ।अस्पतालले खानपिनको व्यवस्था मिलाउँदै आएपनि वेवारिसे महिलाको हेरचाह र स्याहार हुन नसकेपछि इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले उनको हेरचाहमा जुटेकी छिन् ।

मिडियामा आउन नचाहेकी उपप्रमुख पोखरेलले सामाजिक कार्य भएकाले प्रचारबाजी नगरेको बताइन् । बिचल्लीमा परेकी महिलाको हकमा आफुले सकेको कार्य गर्दै आएको उनले बताइन् । आफन्त फेला नपरेकाले कहाँ राख्ने भन्ने विषय टड्कारो रुपमा खड्किएकाले सो विषयमा सरोकारवालाहरुसँग छलफल चलाइरहेको उनले बताइन् ।सांसद ज्योति सुब्बाले सो विषयमा प्रदेश संसदमा आवाज उठाउने प्रतिवद्धता जनाएको उनले बताइन् । वेवारिसेको हकमा आवास सहितको बन्दोवस्ती आवश्यक रहेको बताउने पोखरेलले इमरजेन्सीमा अलपत्र महिलाको सरसफाई सहितको हेरचाहमा आफुले सकेको मद्यत मात्रै गरेको बताइन् ।अस्पतालका स्विपरहरुले घिन मान्दैै वेवारिसे महिलाको आसपास जान नमान्ने भएका कारण समेत स्वयं उपप्रमुख आफैं वेवारिसे महिलालाई नुहाईधुवाई सहित लत्ताकपडाको जोहो गर्ने देखि कुचो लिएर सरसफाईमा जुट्ने गरेको इमरजेन्सी कक्षमा उपचारकालागि पुगेका बिरामीहरुले बताए ।











