इनरुवा नगरपालिकाको कार्यालयले जेष्ठ नागरिक वृद्धवृद्धाहरुलाई दशैं खर्च वितरण गरेको छ । नगरपालिकाको कार्यालयले वडा मार्फत ९० वर्ष उमेर पार गरेका वृद्धवृद्धालाई प्रतिव्यक्ति दुई हजारका दरले दशैं खर्च उपलब्ध गराएको हो ।


सामाजिक सुरक्षा भत्ता कार्यक्रममा सहभागिताको आधारमा इनरुवामा १ सय ३२ जना ९० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरु रहेका छन् ।नगरका सबै दशवटै वडामा घरमै पुगेर वृद्धवृद्धालाई दशैं खर्च वापतको रकम वितरण गरिएको नगर प्रमुख राजन मेहताले बताए । सम्वन्धित वडाका वडाध्यक्ष सम्मिलित टोलीले वृद्धवृद्धालाई भेटेर दशैं खर्च वापतको रकम उपलब्ध गराएको मेहताले बताए ।तथ्याङकमा तलमाथि पर्न सक्ने भएकाले घरपरिवारमा रहेका र विवरणमा छुटेकाहरुको हकमा समेत नाम संकलन गरी दशैं खर्च वापतको रकम वितरण गरिएको वडाध्यक्ष अञ्जनी पोखरेलले बताए । पोखरेलले नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा रकम वितरण गरिएको बताए ।वृद्धवृद्धाको सम्मान र आर्शिवाद ग्रहण गर्ने उद्देश्यसाथ सो कार्यक्रम संचालनमा ल्याइएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।










