- अमर काफ्ले

इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय युवाहरुले उठाएका छन् । संचारमाध्यम सहित सामाजिक सञ्जालमा अस्पतालको फोहोरको विषय उठाइएपछि इनरुवाका स्थानीय युवा सहितका अभियान्ताहरु फोहोर व्यवस्थापनमा एकजुट बनेका छन् ।इनरुवा इभेन्ट म्यानेजमेन्टका राकेश निरौला, सुशान्त बस्नेतका साथै सामाजिक अभियान्ता दिनेश लम्साल सहितको युवा टोलीले अस्पतालमा थुप्रिएको फोहोर संकलनको अभियान थालेपछि सर्वसाधारण सहितको साथ बढेको छ । लामो समयदेखि अस्पताल परिषरमा थुपारिंदै आएको फोहोर उठाउन अस्पताल प्रशासनले चासो नदिंदा सो क्षेत्र दुर्गन्धित बन्नुका साथै आवतजावत गर्न नाक थुन्नु पर्ने अवस्था सृजना भएको थियो ।
अस्पतालजन्य फोहोर आफैंमा हानिकारक हुने भएपनि सोको उचित व्यवस्थापनका सवालमा अस्पतालले चासो नदिएकाले आफुहरु लागेर फोहोर संकलन गरी व्यवस्थापनको कार्यमा जुटेको निरौलाले बताए । अभियान्ता लम्सालले अस्पताल सुधार अभियानको नेतृत्व युवा पुस्ताले सम्हाल्न आवश्यक रहेको बताए । स्थानीयहरुले अस्पताल परिषर सरसफाई गर्नुका अलावा रङरोगन समेत गरेका छन् । स्थानीय युवाहरुकै पहलमा वृहत सरसफाई कार्यक्रम समेत आयोजना गर्न लागिएको छ ।
फोहोर संकलन कार्यमा युवाहरु स्वतस्फूर्त जुटेका छन् भने ट्याक्टरको निःशुल्क बन्दोवस्ती विष्णु कटवालले मिलाएका छन् । अस्पतालका कर्मचारीहरुले भने आफुहरुले उठाउने तरखरमा लागेको फोहोर युवाहरुले उठाएको बताएका छन् । अस्पतालले काम नगरेको जस्तो सन्देश प्रवाह हुनेभएपनि फोहोरमैला उठाउने कार्यमा स्थानीयको सहभागितालाई उसले सराहनीय कार्य भनेको छ ।

फोहोर उठाउने सवालमा बहानाबाजी गर्दै आलटाल गर्दै आएको अस्पताल प्रशासनले स्वयं आफुहरु फोहोर व्यवस्थापनमा जुट्ने तरखरमा रहेको भनि दिएको प्रतिकृयालाई स्थानीयहरुले भने बेतुकको बयानबाजी भनेका छन् । महिनौं वेवास्ता गर्ने अस्पताल अन्यले फोहोर उठाएपछि लाज ढाकछोप गर्ने प्रपञ्चमा जुटेको अभियान्ताहरुको बुझाई छ ।अस्पताल व्यवस्थापन समितिले अस्पतालका समस्याको दीर्घगामी समाधानकालागि सरोकारवालाहरुसँग छलफल गरिने जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले अस्पताल प्रशासन, कर्मचारी सहित सरोकारवालासँगको छलफल पछि ठोस रणनीति बनाएर अघि बढिने बताए । यद्यपी स्रोतले दिएका जानकारी अनुसार अस्पताल र व्यवस्थापन समितिबिच भएको छलफलमा अस्पताल सुधार लगायतका विषयमा बहस छेडिएपछि चर्काचर्की भएको छ । अस्पताल स्रोतका अनुसार पछिल्लो घटनाक्रमको विषयमा प्रदेश सरकारले समेत चासो लिएको छ ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia