इनरुवा । सुनसरीको इनरुवा नगरपालिका १ लोकतान्त्रिक चौकमा बिहिबार नगद ४ लाख चोरी भएको छ । इनरुवा १ लोकतान्त्रिक चौकमा रहेको युनिक टेलर्स तल सडकमै बिहिबार दिउँसो ४ लाख नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बैंकबाट ४ लाख रुपैँया निकाली झोला भित्र राखेको र घर जानका लागि मोटरसाईकलको लेगार्डमा झुण्डाईएको अवस्थामा सो रकम चोरी भएको हो । बिहिबार १२ः३० बजेको समयमा इनरुवा ९ का ईद्रिस अलिले राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाबाट ४ लाख नगद रुपैँया निकाली झोलाभित्र मोटरसाईकलको लेगार्डमा झुण्डाएर राखेका थिए । मोटरसाईकल स्टाट गर्न खोज्दा सडकमा ५–६ हजार रकम छरिएर रहेको देखिएपछी अलिले कसको पैसा हराएको हो भनि सोध्दा भिडभाड भएको र सोही क्रममा अलिले मोटरसाईकलको लेगार्डमा झुण्डाई राखेको ४ लाख नगद रुपैँया चोरी भएको पिडित अलिले बताए । इनरुवाको लोकतान्त्रिक चौक र युनिक टेलर्समा लागेको सिसीटिभी क्यामेरालाई समेत छलेर चोरले बिहिबार दिउँसो २ः१५ बजेको समयमा व्यस्त बजार बजारबाट नगद ४ लाख रुपैँया चोरेर निस्किएको हो । दुई दुई वटा सिसीटिभी क्यामेराको फुटेजलाई छलेर चोरले चोरी गर्न सफल भएको हो । दुबै सिसी क्यामेरा चोरी भएको समयमा केही समयको लागि बिग्रिएकोले चोरको पहिचान गर्न समस्या भएको पिडित अलिले बताए । इनरुवाको मुख्य व्यस्त बजारमा ४ लाख नगद रुपैँया चोरी भएको बिषयमा थप अनुसन्धान र चोरी गर्नेको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए । इनरुवामा पछिल्लो समय चोरी हुने क्रम बढेपछी यहाँका सर्वसाधरण र व्यापारीहरु त्रसित बनेको उद्योग बाणिज्य संघ इनरुवाका पूर्व अध्यक्ष प्रमोद कुमार आचार्यले बताए । व्यस्त बजारभित्रै चोरी हुने क्रम बढे पनि त्यसमा संलग्नहरु भने पक्राउ नपर्दा यसले सर्वसाधरण र व्यवसायीहरु सशंकित हुँदै गएको पूर्व अध्यक्ष आचार्यले बताए । इनरुवामा चोरीको घटना यो पहिलो भने होइन । जिल्लामा बर्षेनी पसलहरुका साथै सर्वसाधरणले बैंकबाट झिकेको रकम चोरी हुँदै आएका छन, तर घटनामा संलग्न भने पक्राउ पर्दैनन् । यसले व्यवसायी र सर्वसाधरणलाई सशंकित बनाएको उनको भनाई छ । बारम्बार चोरी हुँदा समेत त्यसमा संलग्न पक्राउ नहुँदा व्यवसायीमा निराशा छाएको छ । इनरुवाको मुख्य केन्द्रविन्दु मानिने लोकतान्त्रिक, सुनचाँदी लाईन लगायतका ठाउँहरुमा भएका यस्ता घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने व्यवसायीहरु बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार खुल्ला सिमानाका भएका कारण भारतबाट आएका चोरहरुले चोरी गर्ने र उतै भाग्ने गर्दा पक्राउ गर्न समस्या भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया