इनरुवा । सुनसरीको कोशी गाउँपालिका ७ स्थित हरिपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसुती गृह) विहिवारबाट संचालनमा आएको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले सेन्टरको उद्घाटन गरेका हुन् ।cउद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष अन्सारीले बर्थिङ सेन्टरको सेवा प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यहाँबाट प्रभावकारी ढंगले प्रसुती सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीसँग आग्रह पनि गरे । कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले यहाँका महिलाहरु प्रसुती सेवाका लागि जिल्ला अस्पताल इनरुवा लगायत अन्य ठाउँ जानुपर्ने बाध्यता अब अन्त्य भएको बताए । उनले यस भेगका महिलाहरु अब यहीबाट प्रसुती सेवा लिन पाउँदा खुसी लागेको बताए । उनले सरकारी अस्पतालमा प्रभावकारी उपचार सेवा प्रदान हुँदैन भन्ने गलत मानसिकता त्याग्न गाउँबासीसँग अपिल समेत गरेका छन् ।

सरकारी अस्पतालमा प्रसुती गराउने महिलाले ५ सय रुपैया भत्ता समेत पाउने सरकारले व्यवस्था गरेको छ । साथै गर्भबसेदेखि बच्चा जन्मेसम्म चार पटक स्वास्थ्य चौकीमा जाँच गराए बापत महिलाहरु आठ सय रुपैया दिने व्यवस्था छ । कोशी गाउँपालिका सहित आसपास क्षेत्रका सुत्केरी महिलालाई हुदै आएको समस्यालाई मध्यनजर गर्दै हरिपुर स्वास्थ्य चौकीमा प्रसुती सेवा संचालन गरिएको अध्यक्ष अन्सारीले बताए । जटिल प्रसुती गराउने स्वास्थ्य केन्द्र नहुँदा गर्भवती र सुत्केरी हुने महिला समस्यामा पर्दै आएको अवस्थालाई मध्यनजर गरी हरिपुर स्वास्थ्य चौकीमा प्रसुती सेवा संचालन गरिएको अध्यक्ष अन्सारीले जानकारी दिए । हरिपुर स्वास्थ्य चौकीमा प्रसुती सेवा संचालनका लागि बिहिबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष अन्सारीले महिलाहरुलाई सहज रुपमा सुत्केरी गराउने उदेश्यले सेवा संचालन गरिएको बताए । कार्यक्रममा कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव सहित स्थानीय जनप्रतिनिधी, सेवाग्राही, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया