कामदार आन्दोलित बनेपछि सुनसरीको गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्स इन्ड्रसटिज प्रालिको उत्पादन प्रभावित बनेको छ ।आन्दोलनका कारण उद्योगको उत्पादन प्रभावित बन्दा चाउचाउ र भुजिया गरि १३ हजार कार्टुन उत्पादन कटौति भएको छ । हड्तालका कारण दैनिक एक करोड बढीको नोक्सानी सहनु परेको उद्योग प्रशासनले जनाएको छ ।

कम्पनीको नियम विरुद्ध आन्दोलित कामदारको हड्तालका कारण वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको सीजी फुड्स प्रालि दुई दिनयता बन्द छ । २ सय २० कामदार एकसाथ आन्दोलनमा उत्रिएपछि उद्योग सञ्चालनमा आउन सकेको छैन् ।उद्योगका प्रशासकीय अधिकृत तथा प्रवक्ता श्याम पोखरेलका अनुसार कामदारको आन्दोलनले दैनिक ७० लाख बराबरको सामान उत्पादन प्रभावित बनेको छ ।आन्दोलित कामदारहरुले खाजा,नास्ता खाने र शौचालय जाने जस्ता सवालमा समेत कम्पनीले कडाई गरेकाले उद्योग विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।आन्दोलित कामदार मध्येका कृष्ण चौधरीले उद्योग कामदारको हकहीतको पक्ष्यमा नदेखिएकाले आन्दोलित बन्नु परेको बताए । खाना खानकोलागि घर जान पाउनु पर्ने आफुहरुको अडानलाई उद्योगले वेवास्ता गरेको उनी बताउँछन् । उद्योग भित्रै रहेको क्यान्टिनमा जबरजस्ती खाना, नास्ता खानु पर्ने बाध्यता सृजना गराउन उद्योगले आफुहरुलाई कडाई गरेको चौधरीको भनाई छ । चौधरीले आफुहरुको एकमात्र माग खानाकालागि उपलब्ध गराइने समयमा उद्योग बाहिर निस्कन पाउनु पर्ने रहेको बताए । खानाकालागि आधा घण्टाको समय अपुग भएको समेत कामदारको गुनासो छ ।

कामदारको गुनासो र आन्दोलनका सवालमा उद्योग प्रशासनले भने बेतुकको राजनीति लाद्न खोजिएको प्रतिकृया दिएको छ । कामदारको सवालमा कम्पनिबाट उपलब्ध हुने सबैखाले सेवा र सुविधा उपलब्धताका बाबजुत कामदार आन्दोलनमा उत्रिनुलाई उद्योगले व्यक्तिगत स्वार्थ साध्ने केहि व्यक्तिको उक्साहट र बदनीयत पूर्ण कार्य भनेको छ ।उद्योगका प्रवक्ता पोखरेलले श्रम सम्झौताकै दौरान कम्पनीका सबै नियम कानुन मान्ने शर्त अनुरुप प्रकृया संगत नियुक्ति गरिएका कामदार हड्तालमा उत्रनुलाई अवैधानिक कदम भएको बताए । श्रम ऐन अन्र्तगत आफुहरुले कामदारका हकमा सञ्चय कोषको व्यवस्था सहित आवश्यक सेवा सुविधा दिलाएको बताउने पोखरेलले काममा फर्किन गरिएको पटक पटकको आग्रह नटेरेकाले कानुनी बाटोमा अघि बढ्न लागिएको बताए । सम्भावित जोखिलाई मध्यनजर गर्दै सहज वातावरण नबने सम्म उद्योग सञ्चालनमा ल्याउन नसकिने समेत पोखरेलले बताए ।सीजी फुड्सले औरावनीमा उत्पादन थालेको ४ महिना भएको छ । कामदार परीक्षण अवधिमै रहेको बताएको उद्योगले असन्तुष्टिका विषय भए कानुनी व्यवस्था अनुरुप प्रकृया संगत व्यक्त गरिनुपर्नेमा त्यसो समेत नगरिएको बताएको छ ।कामदारहरुले उद्योगको हीत विपरित कार्य गरेको पाइएकाले सो सम्वन्धमा कानुनी बाटो रोज्ने विषयमा छलफल भैरहेको उद्योग प्रशासनको भनाई छ । उद्योगले कम्पनीको नियम भन्दा बाहिर जान नसकिने स्पष्ट पार्दै कामदारलाई बहकावमा नलागी आफ्नो पेशाको सुनिश्चितता गर्दै काममा फर्कन आग्रह समेत गरेको छ ।चौधरी ग्रुपको सीजी फुड्स प्रालिले औरावनीमा जग्गाको मूल्य बाहेक २० करोड बढी लागतमा उद्योग सञ्चालनमा ल्याएको छ । उद्योग ग्राम बनाउने लक्ष्य लिएको सीजीले २० विगाह क्षेत्रफल ओगटेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia