इनरुवा । अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार प्रतिवादी तर्फका अधिवक्ताहरुको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा भोलि कार्यालय समयसँगै अघि बढाइने छ ।

श्रेष्तेदार पोखरेलका अनुसार कार्यालय समय सकिएकाले बार र बेन्चको सहमतिमा बाँकी थुनछेक भोलिका लागि सारिएको हो । बिहान ११ बजेबाट सुरु थुनछेकमा पीडित महिला तर्फका अधिवक्ताहरुको बयान भने सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका अधिवक्ताहरुको बहस सुरु भएको थियो । प्रतिवादी गिरी तर्फका ६ जना वकिल मध्ये तीन जनाले बहस सकेका छन् । अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी रहेको छ । वकालतनामा दर्ता भएका मध्ये तीनजनाको मात्र बहस बाँकी रहेकाले भोलि अपरान्ह सम्ममा अदालतको फैसला आउन सक्ने अनुमान गरिएको छ । अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको सवालमा सुनसरी जिल्ला अदालतले सादा तारिक, धरौटी वा पुर्पक्ष्यका लागि कारागार चलान मध्ये कुनै एक फैसला गर्न सक्छ ।
अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्ष सम्म जेल सजाय हुन सक्ने छ । गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिश राधाकृष्ण उप्रेतीको एक नम्वर इजलासमा परेको छ ।








