नेपाल आर्मी सुनसरीको इनरुवामा जारी एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । समूह ए को बिजेता बन्दै आर्मी सेमीमा प्रवेश गर्दा अर्को विभागीय टोली एपीएफ भने समूह चरणबाटै बाहिरिएको छ ।
इनरुवा क्रिकेट मैदानमा आज समपन्न खेलमा आर्मीले आयोजक एमएमसी विरुद्ध १० विकेटको सहज जित निकालेको हो । हारसँगै आयोजक समेत प्रतियोगिताबाट बाहिरिएको छ ।एमसीसी इनरुवाले दिएको ५७ रनको झिनो लक्ष आर्मीले विना विकेट ५ ओभरमा भेट्टायो । लक्ष पछ्याउने क्रममा आयोजक विरुद्ध हावी देखिएका आर्मीका ब्याट्सम्यानले पहिलो वलबाटै आक्रामक सट खेलेका थिए ।
टिमकालागि जित दिलाउने क्रममा ओपनर कुशल मल्लले ३५ तथा हरि झाले नटआउट रहँदै २० रन बनाए । प्रतियोगितको उत्कृष्ट फममा रहेका मल्लले ५ चौका र २ छक्का प्रहार गर्दा झाले २ चौका र १ छक्का प्रहार गरे । पहिलो खेलमा मल्लले एपीएफ विरुद्ध शतकीय पारी खेलेका थिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको एमएमसी इनरुवा १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनमा समेटिन पुगेको थियो । जारी प्रतियोगितामा प्रदेश नम्बर ५ पछि दोस्रो कम स्कोरमा समेटिएको एमएमसीले ५६ रनमात्र जोड्न सक्यो ।
आर्मीको वलिङ र उत्कृष्ट फिल्डिङ सामू टिक्न नसकेको आयोजक इनरुवाकाका ५ जना ब्याट्सम्यमानले खाता खोल्न समेत सकेनन् । शुसान्त तिम्सिनाले १५ र सोनु मण्डलले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । आर्मीका शुसान भारी एक्लैले हयाट्रीक सहित ७ विकेट लिए । जारी प्रतियोगिताको एकै खेलमा सर्वाधिक विकेट लिने शुसान पहिलो वलर समेत बनेका छन् । आर्मीकालागि हरि बहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट हात पारे । भारी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिबाट समूह बि अन्र्तगतका खेलहरु सुरु हुनेछन् । भोलिको खेलमा कर्णाली प्रदेशले बिभागीय टोली नेपाल पुलिसको सामना गर्ने छ ।









