इनरुवा। सरकारी उपेक्षामा परेको पूर्वकै ठूलो सिमसार युक्त बर्जु तालमा पर्यटक भित्र्याउने उद्येश्यसाथ माघी महोत्सवको आयोजना गर्न लागिएको छ ।बर्जु गाउँपालिकाको पहलमा भ्रमण वर्ष २०२० लाई लक्षित गरि ताल परिषरमा माघी महोत्सवको आयोजना गर्न लागिएको हो ।महोत्सवलाई थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गर्न लागेको छ ।

भोलि दिउँसो आयोजना गरिने माघी महोत्सवको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माघी महोत्सवमा उपसभापति बिजयकुमार गच्छदार लगायतका नेताहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।पछिल्लो समय बर्जु ताल कोशी टप्पु आरक्षबाट विस्थापित हुँदै गएका चराहरको नयाँ वासस्थानका रुपमा देखा परेको छ ।

१ सय ५२ विगाह क्षेत्रफलमा फैलिएको तालको प्रचारप्रसारको आवश्यकतालाई मध्यनजर गर्दै माघी महोत्सवको आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीले पत्रकार सम्मेलनमा बताउनु भयो ।पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, वडाध्यक्षहरु किशोरकुमार चौधरी र बिनोद कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।








