बिराटनगरबाट सुरु भएको १० रुपैंयामा भरपेट खाना खुवाउने कार्यक्रम झापा पुग्दा ५ रुपैंया सम्ममा खाना खुवाउने अभियान चलिरहदा इनरुवाका युवाहरुले बिगत तिन दिन देखि निःशुल्क खाना खुवाईराखेका छन।सस्तो दरमा भरपेट खाना खुवाउने दाताहरु एकपछि अर्को थपिदै जाँदा सुनसरीको इनरुवामा भने निःशुल्क खाना खुवाउन थालिएको छ। माघ १ गते बाट इनरुवा बसचौकमा सुरु गरिएको अभियान आज माघ ३ गते सम्म पनि सञ्चालनमा आएको छ।

गरिव, असहाय, विपन्न र बेघर भई सडकमा भौतारिएर दिन बिताउने समूदायलाई लक्षित गरि निःशुल्क खानपिनको अभियान चलाएको अभियन्ता समुहका सदस्य अभिषेक खेरवारले बताए। दैनिक ४०० देखि ५०० जनाको हाराहारीमा निःशुल्क खाना खाई रहेको बताईएको छ। निःशुल्क भरपेट खाना कार्यक्रम १ लाख रुपैंयाबाट थालनी गरिएकोमा हाल आएर सहयोगी हातहरु उत्साहाजनक रुपमा बढि रहेको अभियानका संयोजक सत्य यादवले बताए।


यादवका अनुसार सहयोगी हातहरुले गर्दा हामी यो अभियानमा सफल भएका हौ हामी यो अभियानलाई तीन दिनबाट बढाएर दश दिन सम्म लिएर जानेछौ। हामी संग यथेस्ट मात्रामा दैनिक उपभोग्य सरसामानहरु संक्लन भै सकेको छ।५७ टोलीको अग्रसरतामा सुरु गरिएको उक्त अभियानमा अहिले उल्लेखनिय रुपमा इनरुवाका युवाहरु सक्रिय भएको देख्नसकिन्छ। उक्त अभियानमा प्रकृति जल उधोगले सुरु देखिनै निःशुल्क खानेपानीको व्यवस्था गरेको हो।











