स्थानीय युवाहरुले इनरुवा बसचौकमा निःशुल्क भरपेट खाना खुवाउने अभियान थालेको एकसाता पुगेको छ ।५७ जना युवाको समुहले व्यक्तिगत एक हजारका दरले रकम संकलन गरी थालेको अभियानमा अहिले सम्म ५ हजार जनाभन्दा बढीले निःशुल्क भोजन गरिसकेका छन् ।गरिब, विपन्न र असहायलाई लक्षित गरी थालिएको अभियानमा सहयोगको ओइरो लाग्न थालेको छ ।प्रारम्भमा तीन दिनको तयारीका साथ सुरु गरिएको अभियानमा सहयोगी दाताहरुबाट साथ र समर्थन जुट्न थालेपछि निःशुल्क कार्यक्रमले निरन्तरता पाउने सम्भावना समेत बढाएको छ ।कार्यक्रम संयोजक सत्य यादवले दाताहरुबाट प्राप्त हुन थालेको सहयोगले अभियानको निरन्तरताको आश जगाएको बताए ।

हरेक दिन बिहान १० बजेबाट सुरु हुने निःशुल्क भरपेट खाना कार्यक्रममा भोजनकालागि पुग्नेको संख्या दिनप्रतिदिन थपिदै गएको उनले बताए । यादवका पछिल्ला केहि दिनयता इनरुवा बाहेक आसपासका क्षेत्रबाट समेत खाना खान सर्वसाधारणहरु कार्यक्रम स्थलमा आउने गरेका छन् ।निःशुल्क खाना अभियानमा इच्छुक दाताहरुकालागि सहयोग गर्न दान पेटिका समेत राखिएको छ । दान पेटिकामा सहयोग रकम खसाल्नेहरुको संख्या समेत बढेको आयोजक ५७ टोलीले जनाएको छ । आयोजक संस्थाका सल्लाहकार नारायण यादवका अनुसार दान पेटिका र कार्यक्रमकालागि सहयोग गर्ने दाताहरुबाट अहिले सम्म झण्डै दुई लाखको हाराहारीमा सहयोग रकम संकलन भैसकेको छ । कार्यक्रम स्थलमा पुगेर चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्यान्न सामग्री सहयोग गर्नेको संख्या समेत बढ्दै गएको आयोजकको भनाई छ ।अभियानलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, वडाध्यक्ष श्यामदेव मेहता सहित स्थानीय व्यापारी, व्यवसायी, समाजसेवी लगायतका तर्फबाट नगद तथा चामल सहयोग उपलब्ध गराइएको छ ।

इनरुवाका नगरप्रमुख राजन मेहताले ३० बोरा चामल सँगै ४० हजार रकम सहयोग उपलब्ध गराएका छन् । मेहताले आफ्नो जन्मदिन समेत निःशुल्क खाना अभियान स्थलमा मनाएका छन् । नगर प्रमुख मेहताले जन्मदिनको पाटीका लागि छुट्याएको ४० हजार रकम गरिव, दुखी र असहायलाई लक्षित गरी संचालनमा ल्याइएको निःशुल्क खाना खुवाउने अभियानलाई हस्तान्तरण गरेको बताए ।युवाहरुको अभियान समाज सेवाको उत्कृष्ठ उदाहरण बन्न सफल भएकाले आफुले व्यक्तिगत तर्फबाट निःशुल्क खाना अभियानका लागि सहयोग उपलब्ध गराएको मेहताले बताए । उनले नगरपालिकाको तर्फबाट समेत सहयोग जुटाउन पहल थालिएको जनाए ।त्यसैगरी अभियानकालागि ४ नम्बर वडाअध्यक्ष श्यामदेव मेहताले २५ हजार नगद उपलब्ध गराउनुका साथै खानेपानीको सहजताका लागि अभियान स्थलमा ट्युबेल गाडिदिएका छन् ।व्यवसायी जयप्रकाश साहले ११ हजार, कैलास पञ्चारियाले १० हजार, सवारी हाटबट्टी कर ठेकेदारका तर्फबाट १० हजार लगायत अन्य दाताहरुले समेत गच्छे अनुसारको सहयोग अभियानकालागि उपलब्ध गराएका छन् ।निःशुल्क खाना अभियानमा जिप्रका सुनसरीले समेत जनशक्ति सहयोग उपलब्ध गराउँदै आएको छ । डीएसपी बिनोद शर्मा आफैं कार्यक्रम स्थलमा पुगेर अभियानमा सहयोगीको भूमिमा निर्वाह गर्दै आएका छन् । भीडभाडको समयमा प्रहरी जनशक्तिलाई समेत सामाजिक कार्यमा सघाउन लगाउने गरेको शर्माले बताए ।

उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले ब्यापारीहरुबाट सहयोग जुटाउने क्रम थालिएको बताए । निःशुल्क खाना कार्यक्रमको निरन्तरताकालागि संस्थागत तर्फबाट सहयोग प्रदान गर्ने विषयमा छलफल थालिएको समेत उनले जानकारी दिए ।भरपेट खाना खुवाउने कार्यक्रममा आवश्यक भाँडाकुँडा र सागसब्जीको प्रबन्ध रामजानकी गुठी संस्थाले निःशुल्क मिलाईदिदै आएको छ । महेन्द्र साहले टेण्ट र प्रकृति जलले निःशुल्क पानी उपलब्ध गराईरहेको कार्यक्रम संयोजक सत्य यादवले जानकारी दिए ।पूर्वको बिराटनगरबाट १० रुपैंयामा सुरु भएको भरपेट खाना खुवाउने अभियान झापा, इटहरीपछि इनरुवामा संचालनमा ल्याइएको हो । झापामा ५ र इटहरीमा १५रुपैंयामा भरपेट खाना खुवाउने कार्यक्रम संचालनमा छ ।इनरुवाका स्थानीय युवाहरुले निःशुल्क खाना खुवाउने कार्यक्रम थालेसँगै उक्त अभियानप्रति स्थानीयमा चासो बढ्नुका साथै ऐक्यवद्धतासँगै साथ र सहयोग जुट्ने क्रम समेत बढेको छ ।








