इनरुवा । स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै नेपाली युवा विदेशिने क्रममा कमी आएको छैन तर, विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर सुनसरीको कोशी गाउँपालिकाका ३ का धमेन्द्र विश्वासले गोलभेडा खेती गरेर अहिले उनि धेरैका लागि प्रेरणा बनेका छन् ।

गोलभेडा खेती गरेर धमेन्द्र विश्वास अहिले कोशी गाउँपालिका भित्रकै नमुना कृषकको रूपमा परिचित बनेका छन् । रोजगारीका लागि अर्काको भूमिमा बसेर पसिना बगाउनु भन्दा पनि आफ्नै भूमिमा गोलभेडा खेती गर्न सके पैसा कमाउनका लागि बिदेश जानु नपर्ने कृषक विश्वासले बताए । भारतको राजस्थान भन्ने ठाउँमा कोशी गाउँपालिकाले गरेको कृषक भ्रमणको क्रममा राजस्थानमा त्यहाँका किसानहरुले गरेको गोलभेडा खेती हेरेर फर्केका कृषक धर्मेन्द्र विश्वासले खाली समयको सदुपयोग गर्दै यहाँ आएर आफ्नो ५ कठ्ठा जग्गामा गोलभेडा खेती सूरु गरेका हुन् ।

गोलभेडाबाट राम्रो आम्दानी हुनथालेपछी र खेतमा उत्पादित गोलभेडाले बजारमा राम्रो ठाउँ पाएका कारण आजभोली बिहान र बेलुकाको समय उनको गोलभेडा खेतीमै बित्न थालेको छ । ५ कठ्ठा गोलभेडा खेती गर्नमा ५८ हजार खर्च गरेको कृषक धमेन्द्र विश्वासले सो खेतीबाट ७ लाख सम्म आम्दानी लिने सोचमा रहेका छन् । १० कठ्ठा जग्गामा गोलभेडा खेती गरी बार्षिक रुपमा १५ लाखको आम्दानी गर्ने लक्ष्य कृषक विश्वासले लिएको छ । उत्पादन गरेको सबै गोलभेडा इनरुवा र गाउँपालिकाभित्रै बिक्री हुन्छ । गोलभेडाले राम्रो भाउ र बजार पाएका कारण खेतमा पसिना बगाउँदा खुशी देखिएका कृषक विश्वासले भने ‘खेती सुरु गर्ने बेलामा त बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो तर आजभोलि पु¥याउन नै मुस्किल हुन थालेको छ । रहर लाग्दो र फराकिलो जमिनमा आकर्षक तरिकाले व्यावसायिक गोलभेडा खेती गर्दै आएका कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव समेत रहेको कृषक धमेन्द्र विश्वासले विदेश जान लागेका युवालाई आफ्नै देशमा पसिना बगाउन सुझाव दिने गर्छन् । गाउँघरमा चर्को ब्याज लिएर कडा परिश्रम गरी पैसा कमाउन बिदेश जानु भन्दा कृषिमा पसिना बगाउने हो भने जीवन सार्थक बन्ने उनको बुझाइ छ ।










