इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले आगामी माघ १९ देखि २९ गतेसम्म हुन लागेको कोशी पर्यटन महोत्सवका लागि विभिन्न समिति गठन गरेर महोत्सवको तयारी सुरु गरिएको छ । कोशी पर्यटन महोत्सव सम्पन्न गर्न गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । कोशी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । कोशी गाउँपालिका कार्यालयले बुधबार कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । सो महोत्सव कोशी गाउँपालिका ३ पश्चिमकुशाहा, कोशीटप्पु सुनसरीमा हुने आयोजकले जनाएको छ । कोशी गाउँपालिकामा रहेको विश्वमै प्रसिद्ध कोशीटप्पु बन्यजन्तु आरक्ष लगायतको पर्यटकिय स्थलको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको समितिका संयोजक समेत रहेका कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै, छिमेकी बराहक्षेत्र नगरपालिका क्षेत्रमा अवस्थित प्राचिन बराहक्षेत्र मन्दिर र रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिर सम्म पर्यटकहरुलाई लैजानका लागि समेत महोत्सवले भुमिका निर्वाह गरेको अध्यक्ष अन्सारीले बताए । पर्यटकिय क्षेत्रको प्रचारप्रसार र भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गराउनका लागि कोशी पर्यटन महोत्सव आयोजना गरी एक लाख भन्दा बढी पर्यटक भित्राउने महोत्सवको मूख्य उदेश्य रहेको उनले बताए । यसका साथै आन्तरीक तथा बाह्य पर्यटन अभिबृद्धी, कोशी टप्पुबन्य जन्तु आरक्षको पहिचान गराई पर्यटकको उत्कृष्ट गन्त्व्यको रुपमा विकास, पर्यटन क्षेत्रको सचेतिकरण तथा प्रचारप्रसार, दिर्घकालिन रुपमा पर्यटन क्षेत्रको विकास, पहिचान, साँस्कृतिक, प्राकृतिक क्षेत्रको संरक्षण र स्थानीय जनतालाई पर्यटन व्यवसायमा प्रेरित गर्ने उदेश्यले महोत्सव गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।
महोत्सवमा अवलोकन गर्न छिमेकी मुलुक भारतका बिभिन्न राज्यबाट पर्यटक आउने कोशी गाउँपालिकाले लक्ष्य लिएको छ । रामसार सूचिमा सुचिकृत नेपालकै पहिलो सिमसार क्षेत्र, विश्वकै दुर्लभ चराको स्वर्णभूमि, अजिंगर, डल्फिन र रैथाने अर्ना पाईने कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विशेषताहरु महोत्सवमा प्रमुख आकर्षण रहने कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए । माघ १९ गते औपचारिक कार्यक्रमका बिच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने सो महोत्सवमा बिभिन्न जातजातीहरुको झाँकी प्रदर्शन, हात्ति सफारी कार्यक्रम, कोशी कटानबाट आरक्ष सम्म र कोशी व्यारेजबाट राजाबास सम्म जलयात्रा, स्थानीय हस्तकला र कृषि उत्पादनको स्टल प्रदर्शन, राष्ट्रिय वीपि स्मृती कुस्ती प्रतियोगिता, पालिका स्तरीय महिला पूरुष भलिवल प्रतियोगिता, आयुर्वेदिक तथा एलोप्याथिक स्वास्थ्य शिविर र चरा तथा कोशी टप्पुमा पाईने बन्यजन्तुको फोटो प्रदर्शन लगायतका कार्यक्रम तय गरिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए । महोत्सवमा ४० देखी ५० लाख सम्म खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ । सो पत्रकार सम्मेलनमा कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयका वार्डेन राजदेव चौधरी, नेपाली सेनाका मेजर रामचन्द्र श्रेष्ठ, कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, कोशी गाउँकार्यपालिका सदस्य श्याम सिंह, कोशी टप्पु मध्यवर्ती क्षेत्रका अध्यक्ष बीरेन्द्र यादव, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्रकुमार साह लगायतको सहभागिता रहेको थियो ।








