इनरुवा। कोशी गाउँपालीकाको कार्यालयले कोशी महोत्सवको तयारीलाई तीव्रता दिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहामा आगामी माघ १९ गतेदेखि २९ गतेसम्म आयोजना हुने कोशी पर्यटन महोत्सवको तयारीलाई कोशी गाउँपालीकाको कार्यालयले तीव्र पारेको हो । सोही क्रममा सुनसरीको कोशी ब्यारेजमा कोशी गाउँपालीकाको कार्यालयले भारतीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । दुई दर्जनबढी भारतीय पत्रकारहरुलाई सम्बोधन गर्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले भारतीय पर्यटकलाई कोसी महोत्सवमा आकर्षित गर्न प्रचारप्रसार गरेर सहयोग गर्न उनीहरूसँग आग्रह गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न कोशी महोत्सव गर्न लागिएको कोशी गाउँपालीकाको कार्यालयले जनाएको छ । सोही महोत्सव सफल बनाउन तथा कोशी टप्पु वन्यजन्तु आरक्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकृय भएको अध्यक्ष अन्सारीले बताए । कोशी ब्यारेजमा भारतका पत्रकारहरुलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपाल भ्रमण वर्ष सफल पार्न तथा कोशी महोत्सवमा उल्लेख्य मात्रा पर्यटक भित्र्याउन मिडियामार्फत प्रचारप्रसार गर्न आग्रह गरे । आगामी माघ १९ गते कोशी पर्यटन महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीका अनुसार नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धन र बजारीकरण तथा दुर्लभ पशुपंक्षी र वन्यजन्तु संरक्षणमा योगदान दिने उद्देश्यले कोशी पर्यटन महोत्सव गर्न लागिएको हो । उक्त महोत्सवमा कोशी टप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धि कार्यक्रम, श्रोत साधन संकलन, विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशी टप्पुको विषयमा जानकारीमुलक ब्रोसयोर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरुको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरुको स्टल प्रदर्शन,राष्ट्रिय व्यापी विपि स्मृति कुस्ती प्रतियोगिता, पालिका स्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ शिविर, चरा तथा कोशी टप्पुमा पाइने वन्यजन्तुको तस्बिर प्रदर्शन र नागरिक सहयोग तथा सूचना कक्ष माघ १९ गतेदेखि २९ गतेसम्म संचालन गरिने कोशी गाउँपालीकाको कार्यालयले जनाएको छ । कोशी महोत्सवको रैथाने अर्ना, विश्वकै दुर्लभ चरा, नेपालकै पहिलो हात्ती प्रजनन केन्द्र,सिमसार क्षेत्र, डल्फिन र अजिङ्गर प्रमुख आकर्षणका रूपमा रहने गाउँपालीका अध्यक्ष अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia