सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा प्रदेश नम्बर २ ले ४ स्वर्ण जितेको छ । ६ स्वर्णका लागि भएको प्रतिष्पर्धामा प्रदेश नम्बर २ ले ४ स्वर्ण जितेको हो । प्रदेश २ का शिवाङगी दुबे, सरोज यादव, बुन्नीलाल यादव र राज यादवले स्वर्ण हात पारेका हुन् ।

महिला तर्फ ५५ केजी समूहमा दुबेले ७ नम्बर प्रदेशकी मनिषा सिंहलाई पछि पारेकी हुन् । सरोजले फाइनलमा ७० केजी तर्फ नेपाल प्रहरीका धर्मेन्द्र प्रसाद यादवलाई पराजित गर्दै स्वर्ण पदक हात पार्दा प्रदेश २ कै बुन्नीलालले ८६ केजी तौल तर्फ नेपाली सेनाका वृजेस यादवलाई रजतमा सीमित पार्दै उपाधी जितेका छन् ।

यसैगरी १ सय २५ केजी समूह तर्फ ७ नम्बर प्रदेशका करन भट्टराईलाई पराजित गर्दै प्रदेश नम्बर २ का राज यादवले स्वर्ण हात पारेका छन् ।यसैगरी प्रतियोगितामा महिला तर्फ ६५ केजी तौल समूहमा नेपाली सेनाकी शुशिला चन्दले स्वर्ण हात पारेकी छिन् । सो उमेर समूहमा नेपाल प्रहरीकी कोमल रतनीले रजत पदक प्राप्त गरिन् ।

७२ केजी महिला तर्फ भने नेपाल प्रहरीकी निर्मला जागतीले ७ नम्बर प्रदेशकी विमला सुनुवारलाई हराउँदै स्वर्ण जितेकी छिन् ।कोशी गाउँपालिका र सृष्टि समाज इनरुवाले संयुक्त रुपमा आयोजना गरेको दोस्रो संस्करणको राष्ट्रिय कुस्ती प्रतियोगितामा कुल ३६ खेलाडीको सहभागिता रहेको थियो ।प्रतियोगिता महिला र पुरुष दुई भिन्ना भिन्नै समूहमा आयोजना गरिएको छ । महिला तर्फ ५५, ६५ र ७२ केजी समूहमा प्रतिष्पर्धा गराइएको थियो भने पुरुष तर्फ ७०, ८६ र १२५ केजी समूहमा स्पर्धा गराइएको थियो ।

प्रतियोगितामा ४ र ६ नम्बर बाहेकका प्रदेश र दुई बिभागीय टोली नेपाल पुलिस र आर्मीले सहभागिता जनाएका थिए ।प्रतियोगिताका बिजेताहरुलाई प्रदेश नम्बर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियत, प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाका साथै गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र राखेपका सदस्य शम्भु आचार्य लगायतका अतिथिहरुले शिल्ड तथा पुरस्कार वितरण गर्नु भएको आयोजक संस्थाका अध्यक्ष वशन्त सुवेदीले जानकारी दिए ।










