५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिव, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो ।

युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने सो स्थानबाट अलि पर सारिएको छ । स्थानान्तरणसँगै अभियानलाई समेत परिमार्जित गरिएको छ । सीमित व्यक्तिकालागि मात्र अभियान जीवन्त राखिएको छ ।तीन दिनकालागि भनि थालिएको निःशुल्क खाना अभियान महिना दिन कट्दा गरिव, दुखी र असहायकालागि जति लाभकारी देखियो । त्यो भन्दा बढी छेउछाउका होटल व्यवसायीलाई टाउको दुखाई बन्न पुग्यो ।सित्तैमा खान पाइने भएपछि जोकोहीले पटक पटक खाना खाइदिँदा दैनिक एक हजार बढीले खाना खाए । त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा प¥यो । खाना बनाएर बेच्दै आएका बसचोक छेउछाउ मात्र नभएर सिङगो इनरुवा बजारमा रहेका खाना व्यापारीहरुले करिव महिना दिन ग्राहक अभाव झेले । नियमित बाहेकका अन्य ग्राहक होटलमा पुग्न छाडेपछि त्यसको प्रत्यक्ष प्रभाव निःशुल्क खाना अभियानमा समेत प¥यो ।
व्यवसायीहरुको दबाब र केहि अगुवा समेतको प्रेसर पछि अभियान पछि हटाइएको छ । ५७ टोलीले अभियानलाई व्यवस्थित बनाउन कार्यक्रम परिमार्जित गरिएको बताएपनि निःशुल्क अभियान होटल ब्यवसायीकालागि टाउको दुखाईको कारण बनेपछि स्थानान्तरण सँगै परिमार्जन गरिएको छ । एक महिना निःशुल्क अभियान चलाएका कार्यक्रमका संयोजक सत्य यादवले सहयोगीहरुबाट नगद लगायतका सहयोग निकै जुटेको बताए । सबैको साथका कारण निःशुल्क खाना अभियानले ब्यापकता पाएको उनले बताए ।
करिव २ लाख बढी रकम संकलन भएको बताएको ५७ टोलीले केहि अघि सम्म अभियानलाई महिनौं निरन्तरता दिने जनाएको थियो । हाल भने उक्त टोलीले अभियानलाई व्यवस्थित बनाउन निःशुल्क कार्यक्रमलाई केहि मरिमार्जन गरिएको जनाएको छ । ५७ टोलीले गरिव,दुखी, असहायको पहिचान गरी सीमित व्यक्तिलाई निःशुल्क खाना खुवाउने गरिएको बताएको छ । निःशुल्क कार्यक्रममा असहाय र गरिबका साथै नगरपालिका सहित आसपासका क्षेत्रका कामदारसँगै बटुवा लगायत इक्षा हुने जोकोहीले अभियान स्थलमा पुगेर खाना खाने गरेका थिए ।निःशुल्क अभियानले सबैको ध्यान खिच्दै मनग्यै नगद सहितको खाद्यान्न सामग्री जुटाउन सफल देखिएको भएपनि कार्यक्रम स्थानान्तरण सँगै परिमार्जन भएपछि भने आर्थिक हिनामिना भएको हुन सक्ने शंका र उपशंका स्थानीयस्तरमा व्यक्त हुन थालेको छ । संस्थागत रुपमा अघि बढेको ५७ टोलीले हालसम्मको गतिविधि र खर्च विवरण सार्वजनिक गर्नुपर्ने नगरस्तरमा आवाज उठ्न थालेको छ ।
उता अभियानका संयोजक रहेका सत्य यादवले सबै हिसाबकिताब छर्लङग रहेकाले खर्च विवरण सार्वजनिक गर्न आफु सहित आफ्नो टोली तयारी अवस्थामा रहेको बताए । यादवले अभियानमा संकलित रकम कार्यक्रम दैनिकी संचालनकालागि अपुग भएपनि गरिब दुखीकालागि निःशुल्क अभियान भने जारी राखिएको बताए ।यसैबिच उक्त विषयको समाचार तयार पार्ने क्रममा ५७टोली समक्ष जिज्ञासा राखिएपछि निःशुल्क खाना अभियानको हरहिसाब सार्वजनिक गरिएको छ । विभिन्न दाताहरुबाट प्राप्त नगद र खाद्यान्न सामग्रीको विवरण जारी गरेको अभियान टोलीले कार्यक्रम घरघाटाबाट संचालित रहेको स्पष्ट पारेको छ ।








