भ्रमण वर्षलाई लक्षित गरी कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवको खर्च विवरण सार्वजनिकको तयारी थालिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा गाउँपालिकाको कार्यालयले माघ १९ गतेदेखि १३ दिन सम्म कोशी महोत्सवको आयोजना गरेको थियो ।


प्रारम्भमा १० दिनकालागि भनिएपनि अवलोकनकर्ताहरुको भीडका कारण महोत्सवको अवधि ३ दिन थपिएको थियो ।गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार २ लाख पर्यटकले महोत्सव अवलोकन गरेका छन् । अन्सारीका अनुसार महोत्सवका कारण १० करोड बढीको आर्थिक कारोबार भएको छ ।

लक्षभन्दा दोब्बर सफलता हात लागेकोमा दङग देखिएको गाउँपालिकाले महोत्सवको खर्च पारदर्शिताको तयारी थालेको छ । अध्यक्ष अन्सारीले आर्थिक पाटो सबैको चासोको विषय बन्ने भएकाले पार्दशिताका लागि महोत्सवको खर्च विवरण सार्वजनिक गर्नुका साथै समिक्षाको तयारीमा जुटेको बताए । उनले केहिदिन भित्र पत्रकार सम्मेलन गरी खर्च विवरण लगायतका विषय सार्वजनिक गरिने बताए । अन्सारीले महोत्सवका कारण आरक्ष घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकको संख्या ह्वात्तै बढ्दा समेत आरक्ष प्रशासनबाट सोचे अनुरुपको साथ र सहयोग भने पाउन नसकेको बताए । महोत्सवमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सँगै भलिबलका खेलहरु संचालन गरिएका थिए । नेपाली तथा भारतीय कुस्तीबाजहरु बोलाएर दंगल समेतको आयोजना गरिएको थियो भने रमोइलो मेला र विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाले अर्ना तथा चरा अवलोकनसँगै हात्ती सफारी, सप्तकोशीमा बोटिङ लगायतको व्यवस्था मिलाएर भ्रमण वर्ष २०२० लक्षित महोत्सव आयोजना गरेको थियो ।








