इनरुवा दुहवी खण्डको गडन खोलामा प्रहरी बिटकालागि भवन निर्माण गरिने भएको छ । निकै वर्षको अथक प्रयास पश्चात प्रहरीको २४सैं घण्टा उपस्थिति रहने गरी बिट निर्माण गर्न लागिएको हो । प्रहरी बिटको भवन खोला छेउमा रहेको ऐलानी जग्गामा निर्माण गर्न लागिएको छ ।

दुई महिना भित्र निर्माण सक्ने योजना साथ भवनको शिलान्यास समेत गरिएको छ । एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले प्रहरी भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारी, नगर प्रमुख राजन मेहता, वडाध्यक्षहरु किशोर सिङ, अञ्जनी पोखरेल, सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

करिब ४ कट्ठा क्षेत्रफलमा भान्साघर सहित ३ कोठे भवन निर्माण गर्न लागिएको जिसस प्रमुख गोपालराज भण्डारीले जानकारी दिनुभयो । खानेपानी र शौचालयका लागि आवश्यक संरचना समेत निर्माण हुने भण्डारीले बताउनु भयो ।

इनरुवा नगरपालिका वडा नम्बर ५ को सीमामा पर्ने उक्त भवन निर्माण स्थलमा माटो पुर्न जिससले ९ लाख सहयोग उपलब्ध गराएको जनाएको छ । भवन सहितका संरचना निर्माणको कार्य भने शाह निर्माण सेवा इनरुवाले गरिदिन लागेको हो । प्रोपाईटर जयप्रकाश शाहले स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखी प्रहरी बिटकालागि आवश्यक भवन निर्माणमा आफुले सहयोग गर्न लागेको बताए ।

इनरुवा बाट दुहवी निस्कने छोटो मार्गका रुपमा रहेको सो सडक खण्ड एकान्त स्थलका कारण सुरक्षा चुनौतिका हिसाबले संवेदनशील मानिन्छ । केहि वर्ष पहिला सम्म सो खण्ड भएर एकलदुकल सर्वसाधारण यात्रा गर्न हिचकिचाउथे । लुटपाटको सम्भावनाले रातीको समयमा सो खण्डमा आवतजावत शुन्य प्राय रहन्थ्यो ।स्थानीयको माग र सुरक्षा संवेदनशीलता लाई मध्यनजर गर्दै गएको एक वर्षयता भने गडन खोलामा जिप्रका सुनसरीले सुरक्षाकर्मी खटाउँदै आएको छ ।इनरुवाको ७ नम्बर वडामा पर्ने चौकी इलाका प्रहरी कार्यालय दुहवी मातहत रहने छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेकाले सुरक्षाकर्मीको बन्दोवस्ती भने सोही कार्यालयले मिलाउने छ ।









