इनरुवा अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न सांदस सहितको टोलीले अस्पताल प्रशासनलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेको सरोकारवालाको टोलीले सबै समस्या समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको हो ।

संघीय सांसद सीताराम मेहता सहितको टोलीले इनरुवा अस्पतालका मेसु सहित प्रशासन शाखाका कर्मचारी लागयतलाई डाकेर अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन एक महिने अल्टिमेटम सहितको निर्देशन दिएको हो ।अस्पताल बिकास समितिका अध्यक्ष गोपालराज भण्डारी लगायतको उपस्थितिमा सांसद मेहताले इनरुवा अस्पतालका मेसु डा.सन्तोष राई र प्रशासन प्रमुख उमेश गौतमलाई निर्देशन दिएका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मेहताले आफ्नो क्षेत्र भित्रको अस्पताल भएकाले त्यहाँ भित्र मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको भन्दै अस्पताल पुगेर सुधारका लागि निर्देशन दिएका हुन् ।मेहताले कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको जस्ता विषय प्रति ध्यानाकर्षण भएको बताए । उनले व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना सहितको दीर्घकालिन समाधान निकाल्न समेत अस्पताल प्रशासनलाई सुझाएका छन् ।तलब भत्ता लगायतका शिर्र्षकमा भ्रष्टाचार गरेको विषय बाहिरिएकाले सत्यतथ्य बाहिर ल्याउन समेत उनले माग गरे । व्यक्तिगत स्वार्थमा लिप्त केही कर्मचारी र अस्पतालसँग सम्वन्धित केहि सरोकारवालाका कारण इनरुवा अस्पताल बदनामसँगै गुमनाम हुने अवस्थामा पुगेको निष्कर्श निकालेका सांसद मेहताले स्वास्थ्यमा राजनीति र मनोमानी स्विकार्य नहुने बताए ।मेहताले अस्पतालको सबै खर्च र आम्दानी सहितको विवरण सार्वजनिक गर्नुपर्ने माग समेत गरे । उनले इनरुवा अस्पतालमा देखिएको समस्या र खिचातानी सहित सुधार र आवश्यक सहयोग माग सहितको विषय संसदमा उठाउने समेत बताए । निर्देशन अटेर गरे प्रदेश र संघीय सरकार समक्ष आवश्यक कार्वाहीको माग गर्ने समेत उनले बताए ।यता सांसद मेहताको चासो र उठाएका विषयलाई अस्पताल प्रशासनले गम्भिर रुपमा लिएको जनाएको छ । अस्पताल बिकास समितिका अध्यक्ष गोपालराज भण्डारीले अस्पताल सुधारको सवालमा आफु लागिपरेको बताए । उनले सबैको साथ र सहयोग नपाएकाले समस्या समाधान गर्न भने कठिन भैरहेको बताए । उनले यस अघिकी मेसु डा. बिना शाक्यको स्वार्थ र हठीपनाका कारण इनरुवा अस्पताल थप बदनाम बनेको बताए ।उता नयाँ मेसु डा. सन्तोष राईले यसअघि भएका अधिकांशजसो काम कार्वाही त्रुटीसंगत पाइएकाले सिस्टममा ल्याउने प्रयासमा जुटेको बताए । आर्थिक विषय सहित सेवा प्रवाह र कर्मचारी उपर निगरानी सहित आवश्यक छानविन जस्ता विषयमा काम थालिने बताए ।

डा.राईले देशभरका जिल्ला अस्पताल मध्ये सेवा प्रवाह र व्यवस्थापन मूल्याङकनका आधारमा पुछारमा रहेको इनरुवा अस्पतालको स्तरलाई माथि उकास्न सबैको साथ र सहकार्य बेगर असम्भव हुने बताए ।अस्पताल प्रशासन प्रमुख उमेश गौतमले सुधारका लागि गरिएका बिगत देखिका प्रयास सार्थक नहुँदा समस्या थोपरिदै गएको बताए । सबैमा मपाईको भाव झल्कदा इनरुवा अस्पतालले अपेक्षाकृत उपलब्धी हात पार्न नसकेको गौतमको ठम्याई छ । उनले सबै सरोकारावाला एक ठाउँमा बसेर सहकार्य गर्नुको विकल्प नहुने बताए ।अस्पताल निकट जानकारहरुका अनुसार इनरुवा अस्पतालमा रहेको कर्मचारीहरुका बेग्लाबेग्लै समूह र व्यक्तिगत स्वार्थ समस्याको प्रमुख कारक हो । स्वास्थ्य सेवामा राजनीति छिर्नु र स्वयं अस्पताल बिकास समितिका केहि पदाधिकारीहरुको मपाईपन समस्याको प्रमुख जड हो ।








