बलात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरीले आत्मसर्मपण गरेका छन् । उच्च अदालत बिराटनगरले सुनसरी जिल्ला अदालतको निर्णय बदर गरेकै दिनबाट सम्पर्क विहिन भएका गिरीले जिल्ला अदालत सुनसरीमा पुगी आज आत्मसमर्पण गरेका हुन् ।

अदालतमा उपस्थित भएका गिरीलाई आजै थुनुवा पुर्जी थमाईएको छ । अदालतको पत्रसँगै गिरीलाई कारागार चलान गरिएको छ । प्रहरीको टोलीले गिरीलाई क्षेत्रीय कारागार कार्यालय झुम्का लिएर गएको छ ।अनुयायी बलात्कारको आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो । जिल्लाको सो आदेश विरुद्ध उच्च अदालतमा निवेदन परेको थियो । उच्चले जिल्लाको निर्णय उल्टाउँदै गिरीलाई थुनामा राखी कार्वाही अघि बढाउन आदेश गरेको थियो ।

सुनसरी जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले गिरी स्वयं अदालतमा हाजिर भएपछि थुनुवा पुर्जी थमाई झुम्का कारागार चलान गरिएको बताए ।गिरीले संचारकर्मीहरुसँग प्रतिकृया दिदै आफु फरार नभई उपचारका लागि भारत गएको बताए । उपचारका क्रममा उच्च अदालतको आदेश थाहा पाएपछी आफु अदालतमा उपस्थित हुन आएको गिरीले बताए ।

थुनुवा पुर्जी पश्चात प्रहरीले गिरीलाई पूर्पक्षका लागि झुम्का कारागार पुर्याएको छ । मुद्दाको फैसला नआउन्जेल गिरी अब झुम्का कारागारमा थुनुवाका रुपमा रहने छन् ।
महिला अनुयायीले चतरा स्थित आश्रममा कात्तिक ४ गते आफुमाथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।









